इलाम/वैशाख ३१ गतेलाई तोकिएको स्थानीय तहको निर्वाचन सम्पन्न गराउन आइतबार इलाममा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

सदरमुकामस्थित ठूलो टुँडीखेल नजिक पुरानो जिल्ला शिक्षा कार्यालय रहेको स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यालय स्थापना सँगै मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश नवराज दाहालले नेपालको संविधान विश्वमै उत्कृष्ठ रहेको भन्दै स्थानीय तहको निर्वाचन सम्पन्न गर्दामात्रै पनि संविधानको ९० प्रति कार्यान्वयन भएको मान्न सकिने अवस्था रहेको बताए ।

दाहालले नेपालको संविधानले व्यवस्था गरेको स्थानीय तहमार्फत नागरिकको हकलाई स्थानीय तहमै स्थापित गराउनु भनेको देशलाई समृद्धि उन्मूख गराउन तल्लो जग बलियो बनाउनु भएको बताए ।

दाहालले वैशाख १२ गते सम्ममा जिल्लाका बाँकी नौंवटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्ने जानकारी दिए । कार्यक्रममा इलामका सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागोले निर्वाचन लक्षित सुरक्षा मजबुद गराउने र निर्वाचनलाई आवश्यक कर्मचारी जनशक्ति व्यवस्थापन गर्न लाग्ने बताए ।

कार्यक्रममा स्थानीय विकास अधिकारी ध्रुवबहादुर खड्का, मालपोत अधिकृत लिलाराज पौडेल, प्रहरी उपरिक्षक शुसिलकुमार यादव, शसस्त्रका प्रहरी नायब उपरिक्षक चेतराज जोशी, नेपाली सेनाका प्रविण खड्का, नेपाली कांग्रेसका जिल्ला सभापति हिमालय कर्मचार्य, नेपाल पत्रकार महासंघ इलाम अध्यक्ष कोकिला ढकाल, जिल्ला निर्वाचन अधिकारी प्रेमकुमार काफ्लेलगायतले आउँदो स्थानीय तहको निर्वाचन सफल गराउन आ–आफ्ना कार्यालय तथा क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।