धरान । प्रदेश नं. १ काे एक महत्वाकांक्षी योजनाको रुपमा रहेकाे विराटनगरको रानी भन्सारदेखि सुनसरीको धरान जोड्ने ६ लेनकाे सडक परियोजना बजेट अभावका कारण रोकिन पुगेको छ ।

व्यापारीक परियाेजनाकाे रूपमा रहेकाे याे सडक निर्माण सम्पन्न पश्चात १ नं. प्रदेशकाे मात्र नभएर मुलुककै विकासकाे मेरूदण्डकाे रूपमा रहने निश्चित छ । तर अहिले परियोजनाले निर्माण सम्पन्न गरिसकेका कम्पनीलाई भुक्तानी दिन नसक्दा सम्पूर्ण काम रोकिन पुगेको छ ।

ठेकेदार कम्पनीले पूरा गरेको कामको भुक्तानी वजेट अभावमा रोकिएपछि सबै काम रोकिएको रानी-विराटनगर-इटहरी-धरान सडक खण्ड व्यापारिक मार्ग विस्तार आयोजना कार्यालयका इन्जिनियर सुमोद पोख्रेलले वताए । उनले भने, ‘हामीले सडक विभागलाई आवश्यक रकम पठाइदिन ताकेता गरेका गरेका छौं, तर पैसा निकासामा ढिलाइ हुँदा निर्माणको कामै रोकियो ।’ यो सडको विस्तारको काम विभिन्न ११ वटा प्याकेजमा भइरहेको छ । यो वर्ष सबै प्याकेजका लागि ४० करोडको बजेट आएको थियो । तर, कामका आधारमा अझै ५० करोड रुपैयाँ बराबरको रकम भुक्तानी गर्नुपर्ने भएपनि बजेट अभावले समस्या भएको छ ।

पहिलो चरणमा विराटनगरको रानीदेखि सुनसरीको इटहरीसम्मको कुल ३० किलोमिटर सडक विस्तारको काम भईरहेको छ । रानीदेखि दुहवीको सीमाना निमुवासम्मको १२ किलोमिटरका लागि चार प्याकेजमा काम भइरहेको थियो । रानीदेखि रोडशेषचौक बरगाछी, दुधफारम र निमुवासम्मको काम चालु अवस्थामा रहेकोमा भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले सो क्षेत्रको सम्पुर्ण काम रोकेका हुन् । इटहरीदेखि दुहवीसम्मको १० किलोमिटर क्षेत्रमा पनि सडक विस्तारको काम भुक्तानीकै कारण रोकिएको छ । विभिन्न सात वटा ठेकेदार कम्पनी मार्फत साविकको २ लेनको सडकलाई ६ लेनमा विस्तार गर्न प्याकेट छुट्याएर नाला निर्माणसँगै पीच गर्नेसम्मको जिम्मा दिइएको थियो । यस क्रममा दुई महिनादेखि सडक निर्माणमा संलग्न निर्माण कम्पनीहरुलाई आयोजनाले पैसा भुक्तानी गर्न सकेको छैन ।

उनीहरुलाई ५० करोड रुपैयाँ विल भुक्तानी गर्न बाँकी रहेको आयोजनाले जनाएको छ । विराटनगरको वरगाछीदेखि दुघ फारामसम्मको सडक विस्तारको ठेक्का पाएको कान्छा राम कन्ट्रसन प्रालिका प्रोजेक्ट कोडिनेटर दिपक थिङले काम पूरा गरेको भुक्तानी पनि लामो समयदेखि पाउन नसकेपछि वाध्यतावश अहिलेलाई काम रोक्नु परेको बताए ।

‘आयोजनासँग पुरानो भुक्तानी १५ करोडभन्दा बढी दिन बाँकी छ, दुई महिनाभन्दा बढी भइसक्यो, हामीले पनि बाँच्नुपर्छ नि !’ उनले  भने ।कान्छा रामजस्तै निर्माणको ठेक्का पाएका अन्य कम्पनीहरुले पनि सडक विस्तारको काम आजबाट रोकेका छन् । सरकारले विराटनगरदेखि सुनसरीको धरानसम्मको कुल ४९ किलो मिटर सडक ६ लेनको विस्तारका लागि कुल १० अर्व ५८ करोडमा ठेक्का लगाएको थियो ।

विराटनगरदेखि धरानसम्मको कुल ४९ किलो मिटर सडक आर्थिक वर्ष २०७५/०७६ सम्ममा सक्ने गरी ठेक्का लगाइएको थियो । बहुवर्षीय परियोजनाअन्तर्गत पहिलो चरणमा विराटनगरको रानीदेखि इटहरीसम्मको कुल ३० किलोमिटर सडक विस्तारको काम अघि वढेको थियो । यो सडक विस्तारका लागि ५ अर्व ४ करोडमा ठेक्का लागेको थियो । यद्यपी समयमै वजेट निकासा नहुँदा अहिले पहिलो चरणको काम नै रोकिएको हो ।