विराटनगर / स्थानीय तहको चुनावी माहौल तात्दै जाँदा उम्मेदवार बन्न विराटनगरकी एक महिलाले पतिसँग सम्बन्ध विच्छेद गरेकी छन् । वडा सदस्यमा उममेदवारी दिन विराटनगर–११ साबिकको विराटनगर–१५ की ३८ वर्षीया रिङ्कुदेवी परियारले पति सवदनारायण सरदार थारूसँग सम्बन्ध विच्छेद गरेकी हुन् ।

दुईजनाबीच ५ दिनअघि मात्र जिल्ला अदालतबाट सम्बन्ध विच्छेद भएको हो । सम्बन्ध विच्छेदपछि रिङ्कुदेवीले आइतबार जिल्ला प्रशासन कार्यालयदेखि माइतीको थरबाट नागरिकतासमेत लिएकी छन् । पुरानो नागरिकता रद्द गरेर माइतीको थरबाट नागरिकता लिएपछि उनलाई दलित महिला कोटाबाट नेकपा एमालेले विराटनगर–११ को वडा सदस्यमा सिफारिसमेत गरेको छ ।

दलित महिला कोटामा उक्त वडाबाट सदस्यमा एमालेको सिफारिसमा पर्ने एकजना मात्रै भएपछि उनी उम्मेदवार बन्ने निश्चित छ । स्थानीय निर्वाचनमा सबै स्थानीय निकायको प्रत्येक वडामा चुनावी दौडमा रहेका दलहरूले एकजना दलित महिलालाई सदस्य पदमा अनिवार्य उम्मेदवार बनाउनुपर्ने नीति छ ।