बिर्तामोड / झापा गाउँपालिका–७ स्थित मदरगाछमा सञ्चालित ट्रिनिटी इङ्लिस स्कूलले जिल्ला शिक्षा कार्यालयको कक्षा सञ्चालन अनुमति–पत्र कीर्ते गरी विद्यालय सञ्चालन गरिरहेको पाइएको छ । जिल्ला शिक्षा कार्यालयको चलानी नम्बर २१६९ रहेको २०७२ माघको पत्रमा सो विद्यालयले कक्षा–१ मात्र सञ्चालन गर्न अनुमति पाएको थियो । विद्यालय सञ्चालकले यो वर्ष अनुमति–पत्र कीर्ते गरी कक्षा–४ सम्म सञ्चालन गरिरहेका छन् । यसै शैक्षिक सत्रदेखि उनीहरुले कक्षा ५ मा भर्ना गर्न शुरु गरेका छन् । शिक्षा कार्यालयले केही वर्षयता तहगत अनुमति दिन छाडेको जनाएको छ । कक्षागत अनुमति दिँदा एक वर्षमै ५ कक्षासम्म सञ्चालन गर्न नपाइने शिक्षा कार्यालयले जनाएको छ । छानविनका लागि अभिभावक अंगध्वज माझीलगायतले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपछि उक्त रहस्य बाहिर आएको हो । अंगध्वज माझी, नन्दमणि घिमिरे, जानुका पौडेल लगायत अभिभावकको एक समूहले मङ्गलबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी ट्रिनिटीका फाउण्डरद्वय रमेश मण्डल र कृष्ण मण्डलले सरकारी कागजात कीर्ते गरी अभिभावकलाई गुमराहमा राखेको आरोप लगाए । अभिभावकको समूहले विद्यालयको छानविनका लागि जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनउपर तत्कालै जिल्ला शिक्षा कार्यालयलाई छानविन गरी प्रतिवेदन पेश गर्न बैशाख १० गते निर्देशन दिएको छ । चलानी नं. ५९६८ को उक्त निर्देशन पत्रमा विद्यालय सञ्चालकले कागजात कीर्ते गरे÷नगरेको छानविन गर्न भनिएको छ । बिनाअनुमति कक्षा सञ्चालन गरिएपछि त्यहाँ अध्ययनरत् करीब ८० जना विद्यार्थीको भविष्य अन्योलमा परेको अभिभावको भनाइ छ ।