रत्ननगर (चितवन)/ भरतपुर महानगरपालिका–२ स्थित आँपटारीमा आज बिहान दुई घरमा आगलागी भएको छ ।
सो क्रममा सिलिन्डर पड्किँदा आगो निभाउन गएका स्थानीयवासी भरत गुरुङ घाइते भएकामा भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
बिहान करिब ५ बजे बुद्ध तामाङको घरको भान्छाबाट आगो सल्किएर छिमेकी वीरबहादुरको घरमा समेत आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आगलागीबाट १ लाखभन्दा बढीको क्षति भएको जनाइएको छ । प्रहरीले स्थानीयवासीको सहयोगमा आगो निभाएको छ ।
यसैबीच शनिबार साँझ भरतपुरको मुख्य चोक वीरेन्द्र क्याम्पस चोकमा हावाहुरीका कारण रूख ढल्दा तीन गाडी र दुई घरमा क्षति पुगेको छ ।
रूख ढल्दा ना४२प ६०८३ र ना५प १७२५ नंको मोटरसाइकल र ना१ह २५१८ नंको अटो रिक्सा तथा नजिकै रहेको एउटा शृङ्गारिक सामानको पसल र खाजाघरमा समेत क्षति पुगेको प्रहरी उपरीक्षक दीपक थापाले बताए ।
रासस