छविराज प्रोडक्सनको ब्यानरमा बनेको सुपरहिट फिल्म 'किस्मत' बाट भित्रिएका नायक आर्यन सिग्देल एक समयका सर्वाधिक महंगा हिरो हुन् ।
आफ्नो मार्केट गज्जबकै चलेको बेला आर्यनले एक फिल्मका लागि ६ लाख पारिश्रमिक लिएको खबरले सिनेवृत खुबै तातेको थियो । तर, लगातार एकपछि अर्को फिल्महरु बक्सअफिसमा नराम्रोसँग पछारिन थालेपछि आर्यनको मार्केट पनि खस्कदै गयो र गुम्दै गयो क्रेज पनि ।
बर्ष २०७२ मा रिलिज भएको फिल्म 'क्लासिक' पछि उनले उद्घोष गरे कि अब आफ्नो होम प्रोडक्सन बाहेक अन्य बाहिरी ब्यानरका फिल्ममा उनी काम गर्ने छैनन् । उनले आफ्नो वचन पूरा पनि गरेका छन् । 'क्लासिक' पछि उनले आफ्नो होम प्रोडक्सन भन्दा बाहिरको ब्यानरमा काम गरेका छैनन् । 'क्लासिक' पछि उनी बर्ष २०७३, जेठ ७ गते रिलिज भएको गोपीकृष्ण मुभिजको फिल्म 'होमवर्क' मा देखिए तर फिल्मले बक्सअफिसमा कमाल नगर्दा उनलाई दर्शकहरुले नोटिस गर्न पाएनन् ।

आफ्नो होम प्रोडक्सनभन्दा बाहेकका फिल्म नखेल्ने उद्घोष गरेसँगै उनले निर्देशक दिनेश राउतको निर्देशनमा एक फिल्म निर्माण गर्ने बताएका थिए तर अहिलेसम्म उक्त अनटाइटल फिल्मको काम अगाडी बढ्न सकेको छैन् । बरु उनी विदेशमा हुने विभिन्न सांस्कृति कार्यक्रमहरुमा ठुम्का लगाउनमै व्यस्त छन् ।
प्राप्त जानकारी अनुसार, आर्यनले यस बर्ष आफ्नो होम प्रोडक्सनमा बन्ने नयाँ फिल्मको घोषणा गर्दैछन् भने सकभर यसै बर्ष रिलिज गर्ने तयारीमा समेत उनी देखिएका छन् । आफ्नो होम प्रोडक्सन भन्दा बाहिरी ब्यानरमा बन्ने फिल्म नखेल्ने घोषणा गर्नु अगाडी नै उनले एक बाहिरी ब्यानरको फिल्म 'मरिना' साइन गरिसकेका छन् । सञ्चारकर्मी श्याम अर्यालको निर्माणमा बन्न लागेको 'मरिना' मा आर्यनको लिड रोल छ तर निर्माण घोषणा गरिएको बर्ष दिन वित्दा पनि यो फिल्म फ्लोरमा जान सकेको छैन् । नायिका नम्रता श्रेष्ठसँग पर्फेक्ट जोडी देखिने आर्यनलाई एक बर्षदेखी फिल्ममा देखिँदा दर्शकहरु निराश हुनु स्वभाविकै हो तर अहिले दर्शकहरु उनको नयाँ फिल्मको रिलिज कुरेर बसेका छन् । चकलेटी अनुहारका धनी आर्यनको नयाँ फिल्म कहिले आउँछ भन्ने प्रश्न पालेर बसेका दर्शकहरुलाई अब यसको उत्तर त आर्यन बाहेक अरु कसले नै पो दिन सक्छ होला र ?