काठमाण्डौ । प्रधानन्यायाधीश सुशिला कार्कीविरुद्ध महाअभियोग लगाउने प्रस्तावक एवम् नेपाली काँग्रेसका नेता मिन विश्वकर्माले महाअभियोग प्रस्ताव संसदबाट पारित हुने बताएका छन् ।
प्रधान न्यायाधिश सुशीला कार्कीकाे जन्म २००९ साल जेठ २५ गते धरानमा भएकाे हाे । उनी चर्चित काँग्रेस नेता दुर्गा सुवेदीकी श्रीमती समेत हुन् ।
नेता विश्वकर्माले अबको ६ दिनभित्र महाअभियोग प्रस्ताव पारितको प्रक्रिया सुरु हुने बताए । विश्वकर्माले देशको शान्ति, सुरक्षा र अमनचयन कस्तो हुने हो भनेर चौतर्फी सन्त्रास छाइरहेको बेला सरकारले नियमसंगत ढंगले प्रहरी बढुवा नियामावली अनुसार नै आइजिपी नियुक्त गर्दा प्रधान न्यायाधीश कार्कीले हस्तक्षेप गरेको गरेको आरोप लगाए । त्यस्तै उनले सरकारले गलत काम नगरेको समेत स्पष्ट पारे ।
कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव भीम आचार्यले प्रधानन्यायाधीश कार्कीले साहसिक र उल्लेखनीय भूमिका खेलेको बताउँदै कार्कीविरुद्ध महाअभियोग लगाउनु अत्यन्तै खेदजनक र दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरे । कार्यक्रममा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोग संसदमा छलफल गरेर मात्र प्रमाणित हुने बताए ।
त्यस्तै नवगठित राष्ट्रिय जनता पार्टी नेपालका नेता बृषेशचन्द्र लालले कार्कीमाथि लागेको महाअभियोगको विषयमा आफ्नो पार्टीले छलफलबाट पछि निर्णय लिने बताए ।