काठमाडौं/ नेपाली काङ्ग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता गराएको महाअभियोग प्रस्ताव फिर्ता गर्नुपर्ने माग गर्दै नागरिक समाजका अगुवाहरु सडकमा निस्किएका छन् ।
पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, डा. गोविन्द केसी, मानवअधिकारकर्मी कृष्ण पहाडी लगायतको सहभागितामा बुधबार राजधानीको बसन्तपुरमा भएको सभामा सबैले महाअभियोगको गलत प्रयोग भएको बताए ।
कार्यक्रममा त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले ठूलो ग्राण्ड डिजाइनमा प्रधानन्यायाधीशविरूद्ध महाअभियोग आएको बताए । प्रजातन्त्र आएको २७ वर्ष भएपछि दलहरुमा दलीयतन्त्र मात्र संस्थागत भएको भन्दै उनले मुलुकमा देउवातन्त्र, प्रचण्डतन्त्र र केही हदसम्म ओलीतन्त्र रहेको टिप्पणी गरे ।
डा. केसीले प्रधानन्यायाधीशको कार्यकाल एक महिना केही दिन मात्र बाँकी रहँदा महाअभियोग लगाएर कलङ्कको टीका लगाउने प्रयास भएको भन्दै फिर्ता लिन माग गरे ।
उनले चेतावनीपूर्ण भाषामा भने, ‘म दिन नै त तोक्दिँन तर तुरुन्त उहाँको ससम्मान पुनर्बहाली भएन भने सत्याग्रह (अनशन) सहितको आन्दोलन शुरु गर्छु ।
’पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले देशमा बचेका केही संस्थामध्ये न्यायालयलाई ढाल्ने प्रयास भएको बताए ।महाअभियोगविरुद्ध ओर्लन आह्वान गर्दै उनले भने, ‘यदि तपाईहरुले विवेक धर्म छाड्नु भो भने पाप धुरीबाट कराउँछ ।
आज हामीलाई खाने बाघले भोलि तपाईलाई खान्छ ।’मानवअधिकारकर्मी कृष्ण पहाडीले दलहरुले महाअभियोगको दुरुपयोग गरेको बताए ।फिर्ता नलिए प्रधानमन्त्री प्रचण्ड र काङ्ग्रेस सभापति शेरबहादुर देउवाले श्रापित जीवन बिताउने पर्ने भन्दै पहाडीले भने, ‘अहिले त देउवा र प्रचण्ड दङ्ग होलान् तर, फिर्ता लिनु भएन भने जनतालाई तपाईहरुलाई महाअभियोग लगाउँछन् ।’