धरान/इजरायली नागरिक स्वर्गीय इलियास स्कलरको अर्धकदको प्रतिमा निर्मित इटहरी मेट्रिक्सको ज्येष्ठ नागरिक स्मारक पार्क उद्घाटन गरिएको छ ।
पार्कको नेपालका लागि इजरायली राजदुत यरोन मायेरले मंगलबार उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै उनले इजरायली नागरिकको उक्त प्रतिमाले नेपाल र इजरायलबीचको कुटनैतिक सम्बन्ध मात्रै हैन, जनता जनताबीचको सम्बन्धसमेत प्रगाढ बनाएको बताए । उक्त प्रतिमाले नेपाल र इजरायलको सम्बन्धमा सेतूको रुपमा काम गरेको बताउँदै निर्माणकर्ता कलाकार बिक्रमश्रिलाई धन्यवाद ज्ञापन गरे ।
उद्घाटनको क्रममा उनलाई युनिभर्सल पिस फेडेरेसन सुनसरीका प्रमुख सल्लाहकार एवम् बरिष्ठ कवि राजकुमार कार्कीले नेपाली टोपी पहिर्याएर सम्मान व्यक्त गरेका छन् । इजरायली नागरिक इलियासले नेपालबाट इजरायल पुगेका नेपाली केयरगिभरहरुको लागि आत्मियता तथा सद्भाव व्यक्त गरेका कारण उनलाई नेपालमा सम्मानका साथ हेर्ने गरिन्छ । जसको सम्मान स्वरुप नेपालको इटहरीमा पहिलो पल्ट अर्धकदको प्रतिमा निर्माण गरिएको हो ।
कार्यक्रममा अतिथिहरुलाई उद्योगी तथा शान्तिदुत बलराम आचार्यले धन्यवाद ज्ञापन तथा मेट्रिक्सका सचिव कृष्णविनोद लम्सालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा शान्तिदुत मानबहादुर दियाली, गंगा कालिकोटे, कृषि बैज्ञानिक खोजबहादुर कटुवाल, महाराष्ट्र भारतका दर आशुतोष, बुद्धिजिवी लेखनाथ घिमिरे, ज्येष्ठ नागरिक समाजका अध्यक्ष तथा कवयत्री उर्मिला कोइरालालगायतको उपस्थिति रहेको थियो । शान्तिदुत पनिता तामाङ याक्खाले सञ्चालन गरेको कार्यक्रमको सभापति कलाकार बिक्रम श्रिले गरेका थिए ।
तस्बिर: ब्लाष्ट