धरान/सरकारले आगामी आर्थिक वर्षका लागि निर्धारण गरेको नीति तथा कार्यक्रम बिहिबार व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । त्यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको व्यवस्थापिका–संसद् सचिवालयले जनाएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुतका लागि व्यवस्थापिका संसदको बैठक अपरान्ह ४ बजेको लागि बोलाइएको छ । सरकारले स्थानीय तह थपेको विरोधमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद चल्न दिन्छ कि दिँदैन भन्नेमा अन्योलता भने कायमै रहेको छ । एमालेले निर्णय फिर्ता नभएसम्म अवरोध कायम रहने चेतावनी दिएको भएपनि वरिष्ठ नेता माधव नेपाल राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिइने बताएका थिए । यसबारे एमालेले औपचारिक निर्णय भने गरिसकेको छैन