धरान/नवनिर्वाचित गाउँपालिका र नगरपालिकाका वडाध्यक्षलाई दोहोरो जिम्मेवारी हुने भएको छ । आफ्नै वडामा बसेर नियमित कार्य सम्पादन गर्नुका साथै नगर वा गाउँ कार्यपालिकामा पनि विभागको जिम्मेवारी हुने भएकाले वडाध्यक्षले दोहोरो जिम्मेवारी निर्वाह गर्नुपर्ने भएको हो ।

वडाध्यक्षको नियमित कामअन्तर्गत सिफारिसको काम (नाता प्रमाणित, नागरिकता, जग्गा) पञ्जीकरण (जन्म, मृत्यु, विवाह, बसाइसराइ र सम्बन्ध विच्छेद) त्यस्तै विकाससम्बन्धी योजना निर्माण र कार्यान्वयन गर्ने काम वडाबाट गर्नुपर्ने हुन्छ ।

त्यस्तै, वडाध्यक्ष नगर कार्यपालिकाको सदस्य रहने र उक्त नगर कार्यपालिकाको विभाग हुने र उक्त विभागको प्रमुख वडाध्यक्ष रहने भएकाले वडाध्यक्षलाई दोहोरो जिम्मेवारी पर्ने भएको हो ।

गाउँपालिकाको वडाध्यक्षको हकमा पनि यही कुरो लागू हुनेछ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार महानगर र ठूला नगरपालिकामा कम्तीमा नौदेखि ११ वटा विभाग रहने र उक्त विभागको समग्र क्रियाकलाप हेर्ने जिम्मेवारी वडाध्यक्षको हुन्छ । साना नगरपालिका र गाउँपालिकामा भने ७ वटासम्म विभाग रहनेछन् ।

जसमा पूर्वाधार निर्माण विभाग, आर्थिक (कृषि, उद्योग, पर्यटन, पशुपालन), सामाजिक सुरक्षा, राजस्व सङ्कलन विभाग, योजना अनुगमन र मूल्याङ्कन, जनशक्ति व्यवस्थापन, तथ्याङ्क अभिलेख विभाग रहनेछन् ।

त्यस्तै, सूचना र प्रविधि शाखा, शिक्षा, स्वास्थ्य, विपत् व्यवस्थापन तथा न्यूनीकरण शाखालगायत विभाग रहनेछन् । मन्त्रालयका सङ्घीय मामिला महाशाखा प्रमुख डा. हरि पौडेलले वडामा बसेर नियमित काम गर्नुका साथै गाउँ र नगर कार्यपालिकाको जिम्मेवारीसमेत वडाध्यक्षमा हुने बताए, गोरखापत्रमा खबर छ ।