बैतडी/डिलाशैनी गाउँपालिकाको गोकुलेश्वरस्थित बाङ्गाबगरका बासिन्दा एक दशकदेखि पहिराको जोखिममा बस्न बाध्य छन् । पहिराले बर्सेनि घरखेत बगाउन थालेपछि स्थानीय बासिन्दा चिन्तित छन् । विसं २०६४ देखि लगातार पहिराले घरखेत बगाउने गरेको स्थानीय धनीराम भुलले बताए । “सधैँ पहिराकै चिन्ता हुन्छ,” उनले भने– “बर्सेनि खस्ने पहिराले घरखेत बगाउँदा विस्थापितको सङ्ख्या बढ्दै गएको छ ।” पहिराका कारण करिब १५० रोपनी जमिन बगरमा परिणत भएको छ । वर्षात्को समय नजिक आउन थालेपछि बाङ्गाबगरका स्थानीय पहिराको डरले घर छाड्ने गरेका स्थानीय अमर नाथ बताउछन् । करिब सात सय मिटर माथिबाट खसेको पहिराका कारण यहाँका बासिन्दालाई सधैँ त्रास रहन्छ । बर्सेनि आउने पहिराले महाकाली राजमार्गअन्तर्गत बाङ्गाबगरमा सडकसमेत अवरुद्ध हुने गरेको छ । कमेरोयुक्त माटो भएकाले बाङ्गाबगरको पहिरो तत्कालै नियन्त्रण गर्न सकिने अवस्था नरहेको विपद् व्यवस्थापनका क्षेत्रमा काम गरिरहेको संस्था मर्सीकोर नेपालका जिल्ला संयोजक हेमराज भट्टले बताए । पहिराको टुप्पोमा ताल भएकाले सोही तालका कारण पहिरो आएको हुनसक्ने उनी बताउछन् । गत वर्ष त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ संस्थानका प्रतिनिधिले अध्ययन गर्दा कमेरोयुक्त माटो र तालका कारण पहिरो आएको निचोड निकालेका थिए । सो पहिरो नियन्त्रणका लागि पर्याप्त लगानीको आवश्यकता रहेको छ । रासस
पहिराेकाे जाेखिममा बैतडीबासी
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































