धरान/राष्ट्रिय जनता पार्टीलाई समायोजित पार्टीको चुनाव चिन्ह प्रयोग गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी ऐन २०७३ संशोधन भएको छ ।

६ वटा मधेशवादी दल एकीकरण भएर बनेको राष्ट्रिय जनता पार्टीलाई असार १४ गतेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी गराउन उक्त ऐनको १० नम्बर बुँदा संशोधन गरिएको हो ।

आइतबार एकै दिन उक्त ऐन संशोधनका लागि ३ पटक संसद बैठक बसेको थियो भने केही नियमावली नै निलम्बन गरिएको थियो ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १० को उपदफा ७ पछि ७ ‌(क) थप गरिएको छ।

उपदफा ७ मा जुनसुकै कुरा लेखिएको भए तापनि यस दफाबमोजिम एकीकरण वा गाभिएको दलले एकीकरण वा गाभिनुअघि साविकको दल कायम रहँदा प्रयोग गरेको कुनै नाम, झण्डा र एक वा एक भन्दा बढी चिन्ह उपदफा १ बमोजिम गरेको सम्झौताको अधीनमा रही प्रयोग गर्न सक्नेछ ।

तर एउटा जिल्लामा एक भन्दा बढी चिन्ह प्रयोग गर्न सकिने छैन ।

स्पष्टीकरण : यस दफाको प्रयोगजनको लागि चिन्ह भन्नाले चुनाव चिन्हलाई समेत जनाउँछ ।

यो ऐन संशोधनसँगै राजपा पार्टीले तत्काल दल दर्ता र एकीकृत भएका ६ दलमध्ये कुनै एउटा दलको चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिन पाउने भएको छ।

संसदमा उक्त संशोधन पेश गर्दै गृहमन्त्री जनार्दन शर्माले सबै दललाई चुनावमा सहभागी गराउने सरकारको उद्देश्य रहेको बताए ।

आइतबार नै बसेको मन्त्रीपरिषद् बैठकले उक्त दललाई चुनावमा सहभागी हुन कानुनत बाधा नपरोस् भनेर ऐन संशोधन गर्ने प्रस्ताव सदनमा पेश गर्ने निर्णय गरेको थियो ।

यसैबीच संसदको बैठक असार १८ गतेसम्मका लागि स्थगित भएको छ ।

निर्वाचनलाई मध्येनजर गर्दै सरकारले असार १८ सम्मलाई सदन स्थगित गर्ने सभामुखलाई आग्रह गरेको थियो ।