काठमाडौं/ भारतको दार्जीलिङमा नेपालीभाषीहरूमाथि बंगाली भाषा थोपरेकोविरुद्ध भइरहेको आन्दोलनका क्रममा पश्चिम बंगाल प्रहरीले गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङको कार्यालयमा बिहीवार छापा मारेको छ । छुट्टै गोर्खाल्यान्ड राज्यका लागि आन्दोलन जारी रहने घोषणा गर्दै गुरुङले पर्यटकहरूलाई यहाँ नआउन आह्वान गरेको भोलिपल्ट प्रहरीले यो कारवाही गरेको हो । बुधवार एक वक्तव्य जारी गर्दै गुरुङले भने, ‘यो पर्यटकको मात्र कुरा होइन । उनीहरू दार्जीलिङ नआए हुन्छ । हाम्रो आन्दोलन जारी रहनेछ । सीआरपीएफ र सेना तैनाथी गरिदिए हुन्छ ।’ छुट्टै गोर्खाल्यान्डको मागले मूलधारका राजनीतिक दललाई अप्ठ्यारोमा पारेको छ किनकि उनीहरूका दार्जीलिङ इकाइहरूले माउ पार्टीको नेतृत्वलाई अस्वीकार गरेर स्थानीय दलको आह्वानलाई स्वीकार गरिरहेका छन् । आन्दोलनको नेतृत्व गरिरहेको गोजमोले छुट्टै गोर्खाल्यान्डको मागप्रति समर्थन जुटाइरहेका छन् । केन्द्रमा सत्तारूढ दल भाजपाका दार्जीलिङ सांसद एसएस आह्लुवालियाले गृह मन्त्रालयलाई विज्ञहरू सम्मिलित एक समिति बनाएर मागका सम्बन्धमा विचार गर्न अनुरोध गरेका छन् ।

दी इन्डियन एक्सप्रेसबाट