धरान/ स्थानीय तह निर्वाचनको लागि धरान उपमहानगरमा ७ राजनीति दल र ६ स्वतन्त्र गरि १३ जनाले मेयर पदमा उम्मेदवारी दर्ता गरेका छन् भने उपमेयर पदमा १२ जनाको उम्मेदवारी परेको छ ।

निर्बाचन कार्यालयले ढिलाे गरि सार्वजनिक गरेकाे जानकारी अनुसार  कांग्रेसबाट मेयर पदमा तिलक राई, नेकपा एमालेबाट मेयर पदमा तारा सुब्बा र नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, नयाँ शक्ति पार्टीको गठबन्धनले मेयर पदमा अइन्द्रबिक्रम बेघाको उम्मेदवारी दर्ता गराएको छ । प्रमुख तीन दलबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयर पदमा तारादेवी शाक्यको उम्मेदवारी दर्ता भएको छ। राप्रपाकी शाक्य मेयर पदमा उम्मेदवारी दिने एक मात्र महिला उम्मेदवार हुन् ।

यसैगरि, जनजागरण पार्टीबाट मेयर पदमा चन्द्रकुमार शेर्माले उम्मेदवारी दर्ता गराएका छन् भने खम्बुवान राष्ट्रिय मोर्चाबाट भिमप्रसाद तिम्सिना, राष्ट्रिय जनमोर्चा नेपालबाट मेयर पदमा कमला खड्का तामाङले मेयर पदमा उम्मेदवारी दर्ता गराएकी छिन् । मेयर पदमा राजनीतिक दलबाहेक कृष्णनारायण पलिखे, तीर्थबहादुर तामाङ, कौशिला परियार, कृष्ण उदास, रविन लामा र भीमकुमार राईको स्वतन्त्र उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए ।

यसैगरि, उपमेयर पदमा नेपाली कांग्रेसबाट श्यामा रेग्मी, एमालेबाट मञ्जु भण्डारी सुवेदी र माओवादी केन्द्र, समाजवादी फोरम गठबन्धनबाट पारस काङमाङ राईको उम्मेदवारी दर्ता भएको छ । यस्तै, राप्रपाबाट प्रकाश राई, राष्ट्रिय जनमुक्ति पार्टीबाट पुर्णकला लिम्बू, खम्बुवान राष्ट्रिय मोचाबट नरदेवी राई, जनमोर्चाबाट विष्णु खवास र नेकपा माले पार्टीबाट एकराज सुब्बाले पनि उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन्। यसबाहेक, उपमेयर पदमा तुलसा गुरुङ, मेहरमान ह्युज, ममिता राई र विनिता राईले पनि उपमेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सहायक अधिकृत खतिवडाका अनुसार धरानको २० वटा वडामा २० वडाअध्यक्ष पदका लागि १ सय ७ जनाको उम्मेदवारी दर्ता भएको छ भने ४० जना खुल्ला सदस्य पदमा १ सय ८० जनाको उम्मेदवारी दर्ता भएको छ । यसैगरि, २० जनाको महिला सदस्य कोटामा ९१ जना र २० जना दलित महिला कोटाको लागि ८९ जनाको उम्मेदवारी दर्ता भएको छ।