पाँचथर/जङ्गली च्याउ खाँदा पाँचथरमा एक बालकको ज्यान गएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका–७, लुम्बाके बस्ने दश वर्षीय संगम माखिमको ज्यान गएको हो । अरु तीन जना बिरामी परेका छन् । आइतबार जङ्गली च्याउ खाई बिरामी परेका चार जनामध्ये संगमको उपचारको क्रममा गएराति धरानको वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । बिरामी हुनेमा मिक्लाजुङ गाउँपालिका–७, लुम्बाकेका ८२ वर्षिय चन्द्र बहादुर माखिम, उनका नाती वर्ष आठका समीर माखिम र नातिनि वर्ष सात की सपना माखिम रहेको प्रहरीले जनाएको छ । अहिले उनीहरुको उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ । ज्यान गुमाएका संगम पनि चन्द्र बहादुरकै नाति रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।