'पैसामा मेयर पद साटेको' भन्दै एमालेका प्रस्तावित मेयरले छाडे पार्टी
वीरगञ्ज /वीरगञ्ज महानगरपालिकामा मेयरका लागि नेकपा एमालेबाट प्रस्तावित सुन्दर कुर्मीले पार्टी परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्ने घोषणा गरेका छन्। वीरगञ्जमा पत्रकार सम्मेलन गरी एमालेको भातृ संगठन लोकतान्त्रिक मधेशी संगठनको पर्सा जिल्ला अध्यक्ष समेत रहेका कुर्मीले आजैका दिनदेखि एमालेको साधारण सदस्यता समेत परित्याग गरी फोरम नेपाल प्रवेश गर्ने घोषणा गरेका हुन्। स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयरका लागि एमाले जिल्ला कार्य समिति पर्साले कुर्मीको नाम केन्द्रीय कार्य समितिमा सिफारिस गरेको थियो। तर, दुई साता पहिले नेसनल मेडिकल कलेज वीरगञ्जका प्रबन्ध निर्देशक एंव नेकपा माओवादी केन्द्रका नेता वसरद्धिन अन्सारीलाई पार्टी प्रवेश गराएपछि रुष्ट बनेका कुर्मीले आज एमाले परित्याग गरी फोरम नेपालमा प्रवेश गर्ने बताएका हुन्। एमालेले वीरगञ्ज महानगरको मेयरमा टिकट दिने शर्तमा अन्सारीलाई पार्टीमा भित्र्याएपछि पार्टीभित्रका नेता बाहिरिएका हुन्। कुर्मीले तीन दशकदेखि एमाले पार्टीमा आफूले दिएको योगदान र निष्ठालाई लत्याउँदै पार्टी नेतृत्वले रकम लिएर नव प्रवेशीलाई वीरगञ्ज महानगरको मेयरको टिकट बेच्ने निर्णय गरेपछि एमाले भित्र रहनुको कुनै अर्थ नभएको बताएका छन्। निर्वाचनको अन्तिम समयमा एमाले नेतृत्वले आफूलाई धोका दिँदै रकम लिएर नवप्रवेशीलाई मेयरको टिकट बेचेको कुर्मीले बताए। एमाले अहिले पुँजीपति र पैसा लिएर टिकट दिने पार्टी भएको भन्दै कुर्मीले एमालेकै कारण मधेशको माग सम्बोधन हुन नसकेको अरोप लगाए।
फोरम नेपालका केन्द्रीय उपाध्यक्ष लालबाबु राउतले निष्ठा र मूल्य मान्यताको राजनीति गर्ने कुर्मीलाई पार्टीमा स्वागत गर्दै उनको उच्च मूल्यांकन गर्ने बताए।
पहिलाे पाेष्टबाट
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































