धरान/इटहरीको ट्रष्ट नेपाल ओभरसिज प्रालिले पूर्वाञ्चल स्तरीय बाझोगरा भलिबल प्रतियोगिताको उपाधि जितेको छ । धरान–१५ स्थित एभरेष्ट लाइनको भलिबल कोर्टमा शनिबार सम्पन्न फाइलनमा पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरलाई ३–१ को सेटले हराउँदै ट्रष्टले उपाधि उचालेको हो । उपाधिसँगै ट्रष्टले नगद ४० हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेतामा चित्त बुझाएको पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले नगद २५ हजार रुपैयासहित ट्रफी र मेडल प्राप्त गरेको छ । ट्रष्टले प्रहरीलाई २५–१६, १८–२५, २५–१९, २५–१५ को सेटमा हराउन सफल भएको थियो । त्यस्तै व्यक्तिगत पुरस्कार तर्फ ट्रष्टका नविन रिजाल बेष्ट ब्लकर, ट्रष्टकै दिवस लिम्बू बेष्ट स्पाइकर र बसन्त राई बेष्ट डिफेन्स घोषित भए । त्यस्तै पूर्व क्षेत्रीय प्रहरीबाट उत्तम पोखरेल बेष्ट लिफ्टर र प्रदिपकुमार श्रेष्ठ बेष्ट प्लेयर घोषित भएका थिए । बेष्ट प्लेयरलाई २ हजार नगदसहित ट्रफी प्रदान गरिएको थियो भने अन्यलाई जनही १५ सय रुपैया र ट्रफी प्रदान गरिएको क्लवका सचिव देवराज राईले जानकारी दिए । विजेताहरुलाई सुनसरी जिल्ला भलिबल संघका अध्यक्ष गोपाल श्रेष्ठ र क्लवका अध्यक्ष लोकेन्द्र खड्काले नगद तथा ट्रफी प्रदान गरेका थिए । बिहीबारदेखि जारी प्रतियोगितामा पूर्वका ११ वटा टिमहरु सहभागी बनेका थिए । बाझोगरा भलिबल क्लवको आयोजनामा रहेक वर्ष प्रतियोगिता गराउँदै आइरहेको छ ।