शनिश्चरे/झापाको दमक नगरपालिकाले विगत २६ वर्षदेखि नगर क्षेत्रमा भूटानी शरणार्थीलाई दिएको सेवा र शरण सम्बन्धमा शरणार्थी सम्बन्धि उच्चायोगसँग क्षतिपूर्ती स्वरुप नगरमा विकास निर्माणको काम गर्न माग गरेको छ ।
दमक नगरपालिका कार्यालयले जनप्रतिनिधिले कार्यभार सम्हालेयताको प्रगति सार्वजनिक गर्न दमकमा गरेको पत्रकार सम्मेलनमा त्यसखाले क्षतिपूर्ति माग गर्ने निर्णय भएको नगरपालिकाका कार्यकारी अधिकृत युवराज दहालले बताए ।
तेस्रो मुलुक पुनर्वास गराएर बाँकी रहेका शरणार्थीलाई स्थानीय क्षेत्रमै विलय गराउने (स्थानीयकरण) उच्चायोगको घुमाउरो नीतिप्रति नगरपालिकाले त्यसलाई ग्रहण गर्ने अधिकार नभएको आफुहरुले प्रष्ट्याएको नगर प्रमुख रोमनाथ ओलीले जनाए ।
ओलीले दमकको बेलडाँगीमा रहेका शरणार्थीको समस्या दिगो समाधानाका लागि आफूहरुले केन्द्र सरकारसँग पहल गर्ने बताए । दमकमा स्थापना हुन लागेको महत्वकांक्षी योजनाका रुपमा रहेको औद्योगिक पार्क, विश्वकै अग्लो बुद्धको मूर्ति, भ्युटावरलगायत योजनाहरुमा आफूहरु प्राथमिकताका साथ अघि बढेको पनि उनले सुनाए ।
उनले ती योजना सफल पार्न सरकारी निकायमा प्रमुखहरुसँगको भेटघाट र छलफल जारी राखेको उल्लेख गरे । औद्योगिक पार्क, बुद्धको मूर्ति र भ्युटावरको डिपिआर तयार भइसकेको छ ।
भ्युटावरका लागि सरकारले १ अर्ब २५ करोड विनियोजन गरेकाले एक महिनाभित्र टेन्डरसमेत लाग्ने उनले बताए । भ्यूटावर वरपरको जग्गा तत्काललाई प्लटिङ रोक्नु पर्ने समेत सुझाव आएको जनाए ।
साथै कुनै पनि जमिनलाई खाली नराखी भूउपयोगको सिद्धान्त अनुसार तत्काल नीति बनाएर लैजाने तथा अव्यवस्थित प्लटिङ रोक्ने सम्बन्धमा समेत छलफल बढेको छ ।