तेह्रथुम/छथर गाउँपालिकामा निर्वाचित सबै जनप्रतिनिधिले नेपाली पोशाक प्रयोग गर्ने निर्णय गरेका छन् । गाउँपालिकाका महिला जनप्रतिनिधिले गुन्यु, चोली र ढाकाको पछ्यौरा तथा पुरुष जनप्रतिनिधिले दौरा सुरुवाल, कोट र ढाकाको टोपी अनिवार्य रुपमा प्रयोग गर्ने निर्णय गरेका हुन् । गाउँ कार्यपालिकाको पहिलो बैठकले कुनै पनि औपचारिक कार्यक्रममा जनप्रतिनिधिको रुपमा सहभागी हुँदा नेपाली पोशाक लगाउने र जिल्लाको गहनाको रुपमा ढाका कपडाको प्रवद्र्धनका लागि ढाकाका कपडासमेत प्रयोग गर्ने निर्णय भएको अध्यक्ष सन्तवीर तिगेलाले बताए । बैठकले गाउँपालिकामा निर्वा्चित कोही पनि प्रतिनिधिलाई बेरोजगार वा फुर्स्दिलो नहुने गरी विभिन्न १० वटा विषयगत समितिहरु समेत गठन गरेको छ । गाउँ कार्यपालिकाले विगतदेखि अहिलेसम्म सञ्चालनमा रहेका सबै योजनाहरुको अनुगमन, निरीक्षण र पारदर्शी बनाउनमा जोड दिने निर्णय गरेको छ । बैठकले गाउँपालिकाको प्रवक्तामा राजन नेपालीलाई तोकेको छ । गाउँपालिकाको समृद्धिका लागि निर्वा्चित भएका सबै जनप्रतिनिधिहरुलाई सक्रिय राख्न सबैको आ–आफ्नो क्षमता र दक्षता बमोजिमको जिम्मेवारी दिइसकेको अध्यक्ष तिगेलाले बताए । वडाध्यक्षहरु लाई वडाको विकासमा केन्द्रित गराई बाँकी सदस्यहरुको सक्रिय भूमिका सिंगो गाउँपालिकामा केन्द्रित गराउने अध्यक्ष तिगेलाले बताए । अध्यक्ष तिगेलाको संयोजकत्वमा ५ सदस्यीय श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, राजन नेपालीको संयोजकत्वमा ५ सदस्यीय पुर्वाधार विकास समिति, लाक्पा छिरी शेर्पाको संयोजकत्वमा ५ सदस्यीय आर्थिक विकास समिति, कमला नेपालीको संयोजकत्वमा ५ सदस्यीय बातावरण तथा विपद व्यवस्थापन समिति, मन्दिरा कार्कीको संयोजकत्वमा ५ सदस्यीय विधेयक निर्माण समिति गठन भएको छ । यस्तै विष्णुमाया थापाको संयोजकत्वमा ५ सदस्य सामाजिक सेवा तथा क्षमता विकास समिति र हस्तमाया लिम्बुको संयोजकत्वमा ५ सदस्यीय सामाजिक विकास समिति गठन भएको छ । गाउँ कार्यपालिकाको बैठकले उपाध्यक्ष तारा ढकालको संयोजकत्वमा ३ सदस्यीय न्यायिक समिति, ५ सदस्यीय मेलमिलाप समिति, ७ सदस्यीय बजेट तथा कार्यक्रम तर्जुमा समिति र राजस्व परामर्श समिति गठन गरेको छ । कार्यपालिकाको बैठकले भाद्र १५ गते गाउँपालिकाको बजेट तथा कार्यक्रम सार्वजनिक गर्नेगरी सबै वडाको बजेट तथा कार्यक्रम तयारीका लागि योजना तर्जुमा बैठकको मिति तय गरेको छ ।