भद्रपुर/ झापामा दुइ हप्ता वितिसक्दा समेत प्रमुख जिल्ला अधिकारीको पदपुर्ति हुनसकेको छैन भने सहायक प्रमुख जिल्ला अधिकारी विदामा बसेका कारण थप समस्या देखिएको छ ।
जिल्लाका दुवै कर्मचारी विहिन बनेपछि जिल्लाको कतिपय कामहरु ठप्प भएका छन् । प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री साउन २ गते अर्थमन्त्रलायमा सरुवा भएर गएदेखि झापा १६ दिनदेखि सिडियो विहिन बनेको छ । झापामा नयाँ सिडियो पठाउने बारे गृहमन्त्रालयबाट कुनै जानकारी नआइसकेको प्रशासन कार्यालय झापाका कर्मचारी बताउछन । झापाका सम्पूर्ण सरकारी कार्यालयका अभिभावक सिडियो नै जिल्लामा नभएपछि सरकारी कार्यालय प्रमुखलाई दैनिक कामकाजको बिषयमा निर्देशन तथा जिल्लाको शान्ति सुरक्षामा समेत समस्या परेको छ ।
१६ दिनदेखि झापामा सिडियो नभएपछि सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद तिवारीले निमित्त सिडियो भएर जिम्मेवारी निर्वाह गरिरहेका छन् । झापामा दुई जना सहायक प्रमुख जिल्ला अधिकारी हुनुपर्नेमा अहिले एक जना सहायक प्रमुख जिल्ला अधिकारी मात्रै रहेका छन् । डमरुप्रसाद निरौलाको सरुवा भएदेखि उनको स्थानमा गृहले हालसमम अर्को सहायक प्रमुख जिल्ला अधिकारी पठाएको छैन । तीनदिन अघि सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद तिवारी विदामा गएका कारण अहिले निमित्त प्रमुख जिल्ला अधिकारीको काम इलाका प्रशासन कार्यालय दमकका प्रमुख भोजराज श्रेष्ठले गरिरहेका छन् ।
निमित्त सिडियो श्रेष्ठका अनुृसार प्रशासन कार्यालयबाट हुने मुद्धा सम्बन्धी काम सिडियो नहुदा रोकिएको बताए । कार्यालयबाट दिइने सेवा सम्बन्धी अरु कुनै काम नरोकिएको उनको भनाई छ । गृहले यसअघि झापामा सिडियो तोकेर पठाएपछि मात्र सिडियो सरुवा हुने चलन थियो । तर, यसपटक भने गृहले प्रशासन कार्यालय झापामा नया सिडियो नपठाई सिडियोको सरुवा गरेको छ ।
अहिले झापामा बाढी आउने बेला हो, झापामा सिडियो नभएपछि छलफल गर्न समस्या परेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले बताए । सिडियो विहिन झापामा ठूलै प्राकृतिक विपत्ती आए रेडक्रसले कोसंग सहकार्य गर्न भन्ने बिषयमा हामी दोधारमा रहेको ढकालको भनाई छ ।