धरान/भरतपुर महानगरपालिकामा शुक्रबार भएको मतदानमा माओवादीका नेता नै कीर्ते गरेको अभियोगमा फसेका छन् ।
भरतपुर १९ को किरणगञ्ज मतदानस्थलमा शंका लागी चेकजाँच गर्दा माओवादी नेता सूर्य सुवेदी पथिकको बा १३ च ७५९९ नम्बरको कार कीर्तेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । माओवादी नेता सुवेदीले प्रयोग गरेको कार सिडियोको कीर्ते हस्ताक्षर रहेको अनुमतिपत्र बनाई प्रयोग गरेको अबस्थामा भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
स्थानीयले आशंका गरी चेकजाँच गर्दा जिल्ला प्रशासन कार्यालयको छाप नभएको पत्र र सिडियोको कीर्ते हस्ताक्षर गरिएको खुलासा भएको थियो । खानतलासी गर्दा माओवादी नेता सूर्य सुवेदी पथिकलाई माओवादी केन्द्रका प्रतिनिधि भनेर लेखिएको नक्कली पास पनि भेटिएको थियो ।
एमालेका समर्थकले बिरोध जनाएपछि प्रहरीले गाडी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय चितवनमा लगेको छ । कारसहित केहीबेर प्रहरी नियन्त्रणमा रहेका नेता सुवेदीलाई भने त्यसै छाडिएको छ ।
नक्कली पास बनाई मतदातालाई ओसार्न प्रयोग गरिएको अन्य गाडी पनि नियन्त्रणमा लिइएको चतवनका एसपी दीपक थापाले जानकारी दिए ।एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली सत्ता र शक्तिको दुरुपयोग भएको भन्दै स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।