धरान/भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेणु दाहाल विजयी भएकी छन् । उनलाई नेपाली कांग्रेसकोसमेत समर्थन थियो । दाहालले नेकपा एमालेका उमेदवार देवी ज्ञवालीलाई २०३ मतले पराजित गर्दै विजयी भएकी हुन् । दाहालले ४३ हजार १२७ मत प्राप्त गरेकी छन् भने एमालेका ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणुलाई शुक्रबार पुनः मतदान हुँदा विजयी लागि बाटो सहज बनेको थियो ।
२९ वटा वडा रहेको भरतपुरमा २७ वटा वडाको मत जेठ १४ गते नै सार्वजनिक भएको थियो ।
तर भरतपुर वडा नम्बर १९ को मतगणनाका क्रममा जेठ १४ गते राति माओवादीका दुई कार्यकर्ताले सुनियोजित रुपमा मतपत्र च्यातेपछि चुनावी प्रक्रिया लम्बिएको थियो ।
त्यसलगत्तै निर्वाचन आयोगले छानविन गरी पुनः मतदान गर्ने निर्णय गरेको थियो ।
तर नेकपा एमालेका दुई कार्यकर्ताले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेपछि करिब डेढमहिनापछि सर्वोच्चको फैसला आएको थियो ।
सर्वोच्चले निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै पुनः निर्वाचन गराउन सक्ने फैसला गरेपछि शुक्रबार पुनः मतदान भएको थियो । शनिबार बिहानैदेखि भरतपुर वडा नम्बर १९ र २० को मतगणना भएको थियो । दुई वडाको मत गन्न बाँकी रहँदा एमाले उमेदवार ज्ञवाली ७८४ मतले अघि भए पनि मतगणनाको अन्तिम परिणाम सार्वजनिक हुँदा उनी पराजित भएका हुन् ।
यसैबीच उपमेयरमा कांग्रेस उमेदवार पार्वती शाह विजयी भएकी हुन् ।