विजयपुर/चिकित्साशास्त्रको विभिन्न तहको परीक्षामा प्रश्न लिक गरेको तथा आर्थिक चलखेल गरेको उजुरी परेपछि धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा जाँचबुझ आयोगले छानबिन सुरु गरेको छ ।सन् २०१२ मा भएको एमडिएम परिक्षामा तत्कालित उपकुलपती प्राडा वीपी दाश र तत्कालिन डिन निर्मल बरालले प्रश्नप्रत्र आउट गरि लेनदेन गरेको भन्दै भन्दै उजुरी परेपछि आयोगले छानबिन गरेको हो ।

यसका साथै आयोगले सन् २०१३ मा तत्कालिन उपकुलपती प्राडा वीपी दाशले बिदेशी कोटामा पढ्न आउने बिद्यार्थीहरुको शुल्क ७१ हजार ५ सय डलरबाट प्रतिष्ठानको नियम बिपरित आफु खुसी घटाएर ६५ हजार डलर बनाएको र सन् २०१६ मा फेक स्पोन्सर खडागरि तिनजना बिद्यार्थीलाई भर्ना लिएको बिषयमापनि छानबिन अगाडि बढाएको छ ।आयोगले सन् २०१२ ,२०१३ र २०१६ का कागजात नियन्त्रणमा लिएर काठमाण्डौ लगेको छ ।

सर्बोच्च अदालतका पुर्व न्यायाधिस समेत रहेका आयोगका संयोजक गौरिबहादुर कार्कीको नेतृत्वमा आएको टोलिले प्रतिष्ठानबाट कागजात नियन्त्रणमा लिएको हो । श्रोतका अनुसार तत्कालित उपकुलपती दाश र डिन बरालले अनियमितता गरेको भन्ने बिषयमा शंका गर्न सकिने प्रसस्त आधार भएपछि आयोगले छानबिन सुरु गरेको हो ।

आयोगका संयोजक कार्कीले प्रतिष्ठानको परीक्षा विभाग र शैक्षिक विभागबाट लिएको बताएका छन् ।प्रतिष्ठानमा संयोजक कार्की सदस्यहरु प्राडा उपेन्द्र देबकोटा र शिक्षा मन्त्रालयका सहसचिब सुर्यप्रसाद गौतमको टोलि आएको थियो ।

संयोजक कार्कीले सन् २०१२ मा भएको एमडी एमएसको परीक्षामा करोडौ आर्थिक लेनदेन भएकोे, प्रश्नपत्र आउट गरिएकोे र त्यसबेला प्रतिष्ठानबाट उत्रिण भएका बिद्यार्थीहरु नेपाल मेडिकल काउन्सिलले लिने परीक्षमा फेल भएको बिषयमा केही प्रमाण सहित उजुरी परेपछि कागजपत्र नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको बताएका छन् ।सन् २०१२ मा परिक्षा सञ्चालन हुदा नै यो बिषयमा ब्यापक चर्चा भएको थियो ।

तर त्यसबेला यो घटनालाई त्यतिकै साम्य पारिएको थियो ।‘एमडि एमएमको तिन बर्षे कोर्ष रहने गरेको छ । बिदेशी कोटाको परिक्षा शुल्क घटाएको र फेक स्पोन्चर खडा गरेको बिषयलेपनि निकै चर्चा पाएको थियो ।फेक स्पोन्चर खडा गरि तिन जना बिद्यार्थी भर्ना लिएको बिषयमा तत्कालिन स्वस्थ्यमन्त्री गगन थापाले तत्कालिन उपकुलपती वीपी दाशलाई सस्पेनसपनि गरेका थिए ।

उनलाई झण्डै एक महिना कुनै निर्णय गर्ने र आर्थिक कारोबार गर्न नपाउने गरि मन्त्री स्तरीय कारबाही गरेका थिए ।आयोगले छानबिनका क्रममा उजुरी प्रमाणीत भए तत्कालिन उपकुलपती प्राडा विपी दाश र डिन निर्मल बराल सहित परिक्षा समितीका पदाधिकारीहरु स्वतहः कारबाहीमा पर्ने समितीका एक सदस्यले बताए ।

सन् २०१२ का तत्कालिन डिन निर्मल बरालले भने आफुले केही गल्ती नगरेकाले आफुलाई केही डर नभएको बताएका छन् । ‘म भन्दा माथि रेक्टर भिसि (उपकुलपती)हरुपनि छन् मैले त केही गरेको पनि छैन,मलाई त डरपनी छैन’ बरालले ब्लाष्टसँग भने ।तत्कालिन उपकुलपती प्राडा वीपी दाशले पनि उजुरी पर्दैमा आत्तिनु पर्ने अबस्था नरेको बताए ।

२०१२ को एमडि एमएम परिक्षा उपकुलपतीले नगराएर परिक्षा समितीले गराएको उनले बताए । २०१२ मा केही भएको छैन र परिक्षामा मेरो संलग्नता छैन उनले भने । २०१३ को परिक्षा शुल्क घटाउने निर्णय सिनेटले गरेको थियो,सिनेटको निर्णय हामीले कार्यान्वयन गरेका हौ दाशले प्रस्टिकरण दिए ।

त्यसबेला बिद्यार्थी पढ्न नआउने भएपछि शुल्क घटाइएको थियो उनले भने ।२०१६ मा फेक स्पोन्सर कोटामा बिद्यार्थी भर्ना गरिएको बिषयमा सर्वोच्च अदालतले नै बिद्यार्थीको पक्षमा फैसला गरेपछि कसैले केही बोल्न नमिल्ने उनको भनाई छ । उनले आयोगले गर्ने छानबिनमा आफु गलत भए कारबाही भोग्न तयार रहेको बताए ।

यदी आयोगले हाम्रो गल्ती भेटेन भने जसले गलत उजुरी दिएको र आरोप लगाएको छ उसलाई कारबाही हुनु पर्छ दाशले भने ।प्रतिष्ठानका उपकुलपती प्राडा राजकुमार रौनियारले आयोगले माग गरेको कागजपत्र आफुहरुले उपलब्ध गराएको र यस बारेमा आफुलाई केही थप जानकारी नभएको बताए ।