विराटनगर/ जिल्ला प्रहरी कार्यालय मोरङमा हालै सरुवा भएर आएका प्रहरी उपरीक्षक एसपी अरुण बिसीले सिमा नाकामा हुने तस्करी र गुन्डागर्दी नियन्त्रण गर्न लागि पर्ने बताएका छन् ।

विराटनगरमा आज शुक्रबार विहान सञ्चारकर्मीहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै एसपी बिसीले यस्तो बताएका हुन् । उनले सिमा नाका नजिकै भएको हुनाले तस्करी बढी हुने भएकोले यस नाकाबाट हुने तस्करी नियन्त्रण गर्न लागि पर्ने बताए । उनले प्रहरीले मात्र तस्करी नियन्त्रण गर्न सम्भव नहुने भएकाले सबैको साथ सहयोगको आवश्यक रहेको बताए । सबैको साथ सहयोग पाए सिमा नाकामा हुने तस्करी पूर्ण रुपमा नियन्त्रणमा आउने उनको भनाई थियो ।

उनले भने, ‘मेरो पहिलो प्राथामिकता भनेकै शान्ति सुरक्षा प्रदान गरि चोरी, तस्करी नियन्त्रण गर्ने हो ।’ कुनै पनि राजनैतिक दलको सोर्समा मोरङ सरुवा नभएको स्पष्ट पार्दै उनले भने, ‘पेसागत मर्याद र निष्ठामा रहेर काम गर्नेछु ।’

‘सिमा नाकामा बढी अपराधको घटना हुने गरेको पाएको छु,’ उनले भने, ‘मातहेतको इलाकासँग सहकार्य गरि योजना बनाएर काम गर्नेछौं ।’पहिले पनि यस जिल्लामा रहेर राम्रो काम गरेर गएका प्रमुखसँग सल्लाह लिएको जानकारी दिदै उनले भने,’ ‘उहाँहरुले दिएको सुझबलाई मनन गर्दै योजनाको साथ काम गर्नेछु ।’