विराटनग / लगातार परेको अविरल वर्षाले बाढीग्रस्त क्षेत्रका स्थानीयका घर ढलेका छन् । घर, आँगन र सडकभरि हिलाम्मे छ । सर्प र किराले टोक्ने त्रास छ । पाँच दिन देखि विद्युत् आपूर्ति ठप्प हुँदा बाढीपीडितको जीवन कष्टपूर्ण बन्दै गएको छ । बाढी प्रभावित क्षेत्रमा विद्युत् अवरुद्व हुँदा पीडितले हातेबत्ती, इमरर्जेन्सी लाइट र मोबाइल चार्ज गर्न पाएका छैनन् ।
यस्तो विपत् अवस्थामा उनीहरू अन्धकारमा बस्न बाध्य छन् ।
बाढीले सबै सामान बगाएकाले उनीहरूले अँध्यारामा बस्दा किरा र सर्पबाट पनि असुरक्षित रहेको विराटनगर – १२ बखरीको बाढी पीडितहरुले गुनासो गरे । बाढीले विषालु सर्प बगाएर ल्याएको छ ।
अँध्यारामा केही देखिने कुरा भएन । राति बिजुलीबिना हिंड्नुपर्छ’, बखरीको सोभिद ऋषिदेवले भने, ‘विद्युत् नहुँदा निकै समस्या भइरहेको छ ।’सुनसरीको दुहवीको विद्युत प्राधिकरण सबस्टेसन डुबानमा परेपछि अन्धकार छ । लगातारको वर्षा र स्थानिय खोला बस्ती पसेपछि विराटनगरको प्राय सबै वडा डुवानमा परेको थियो ।
नगरको सबैभन्दा बढी प्रभावित भएको वडा १२ मा बाढीले बगाएर ल्याएको सर्पले स्थानियलाई त्रासित बनाएको छ । ऋषिदेव भन्छन्, ‘रात परेपछि सर्प र किराको त्रासमा सुत्नुपर्ने बाध्यता छ ।’वर्षापछि सर्प ओभानो ठाउँतिर निस्कने भएकोले सर्पको टोकाइबाट जोगिन जुत्ता चप्पल लगाएर मात्र खेतबारीमा काम गर्ने, घरवरिपरी बाक्लो घाँस तथा झाडी भए सफा गर्ने र सर्पले टोकिहाले तुरुन्त अस्पताल जानुपर्ने चिकित्सवहरु बताउछन् ।