विराटनगर /निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालका (प्याब्सन) मोरङको आलोपालो नेतृत्व सञ्चालन गर्ने सहमति अनुरूप अध्यक्षमा सुनिल पौडल हुने भएका छन् । अध्यक्ष बासुदेव न्यौपानेले सात महिना नेतृत्व गरेर अध्यक्षबाट राजिनामा दिएपछि बाँकी कार्यकाल पौडेलले समाल्ने भएका हुन् । प्याब्सन मोरङमा तीन वर्षको कार्यकाल रहने व्यवस्था छ । तर, न्यौपानेले अचानक सात महिनाको अवधिमै राजिनामा दिएपछि कमाण्ड समाल्ने बाटो पौडेललाई खुल्ला भएको हो । अध्यक्ष न्यौपानेले प्याब्सन मोरङमा शनिबार नै राजिनामा दिएको बुझिए पनि मंगलार सामाजिक सञ्जाल फेसबुकबाट आफ्नो कार्यकालमा प्याब्सनको हित हुने गरि विभिन्न उपलब्धी गरेको चर्चा गर्दै राजिनामाको घोषणा गरेका हुन् । अध्यक्षको नेतृत्व समाल्न लागेका पौडेल हालका बरिष्ठ उपाध्यक्ष हुन् । स्रोतको अनुसार न्यौपानेले वार्षिक साधरण गरेर मात्र राजिनामा दिने बताइएको थियोे । तर, एका–एक सात महिनामै राजिनामा दिदा प्याब्सन तथा निजी स्कूल संचालकहरूमा चर्चा बढेको छ । आज बुधबार प्याब्सनको कार्यसमितिको बैठक बस्ने बताइएको छ । त्यही बैठकबाट पौडेललाई अध्यक्षमा पदभार ग्रहण गराउने स्रोतले बतायो । प्याब्सन मोरङको १३ औं अधिवेशनबाट न्यौपाने सर्वसम्मत रूपमा अध्यक्षमा चयन हुनुभएको थियो । यसअघिको नयाँ नेतृत्वको लागि आ–आफ्नो दुई प्यानल भएर निर्वाचन हुने गरेको थियो । १३ औं अधिवेशनमा आलोपालो नेतृत्व गर्ने सहमति भएपछि सर्वसम्मत रूपमा न्यौपानेको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको थियो ।