शनिश्चरे/मोरङको पथरीशनिश्चरेका कलाकारहरुले परिवार नियोजन सम्बन्धि सडक नाटक ‘परिवार नियोजन ः स्मार्ट बन्छ जीवन’ लाई झापाको ३ स्थानमा प्रभावकारी रुपमा प्रदर्शन गरेका छन् ।
जिल्ला परिवार नियोजन संघ सिफो टुको आयोजना, जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वय तथा मोरङको पथरी शनिश्चरेस्थित एभरेष्ट आर्ट फ्यूजनमार्फत पूर्वको चर्चित हाँस्य टेलिश्रृंखला दोबाटे सहितका नाट्य कलाकारहरुको प्रस्तुतिमा जिल्लाको ग्रामिण क्षेत्र बाहुनडाँगी, बनियानी र जलथलमा नाटक प्रदर्शन भएको हो ।
नाटकका ‘लाहुरे’ भनिएको ‘डोरी लाहुरे’ को दम्भ र विदेशमा रहनेको घरमा श्रीमती अरुसँग भाग्ने त्रासलाई नाटकले रमाइलो पाराले चिरफार गरेको छ । शंकै शंकामा विग्रिन लागेको लाहुरेको घरबारलाई परिवार नियोजन सम्बन्धिका अवधारणाले सहज बनाइदिएको कथा छ नाटकमा ।
कम्तिमा ३ वर्षको जन्मान्तर पारेर बढीमा २ जना सन्तान जन्माउने, उनीहरुलाई उचित लालनपालन गर्दै राम्रो शिक्षा दिएर असल नागरिक बनाउने तथा आफुहरु समेत आत्मनिर्भर सामाजिक व्यक्तित्व बन्ने कुरा स्मार्ट जीवनको उदाहरण भएको कुरा दर्शाइएको छ । कचनकवल ५ स्थित बनियानीको ऋषिदेव वस्तीमा नाटकको प्रभावले १२ जना महिलाले परिवार नियोजनको लामो अस्थाई साधन कपर्टी लगाउन इच्छुक भएको प्रभावकारी प्रसंग समेत फेला परेको छ ।
विद्यालयका विद्यार्थीहरुले त परिवार नियोजन र स्मार्ट परिवारको कुरालाई आफ्नो समुदायका छन्देशका रुपमा पुर्याउँने बताएका छन् ।एभरेष्ट आर्ट फयूजन र पूर्वमा चर्चित हाँस्य टेलिश्रृंखला ‘दोबाटे’का कलाकारहरु भूपेन्द्र तिम्सिना, अभय पोखरेल, भिष्म न्यौपाने, हरेन्द्र खत्री, कल्पना मिश्र, लीला कुलुङ र बन्दना लिम्बूले नाटकमा परिवार नियोजन तथा सम्पूर्ण हिसावले वन्ने व्यवस्थित जीवनको सन्देश छरेका छन् ।
२ दशक अघिदेखि कञ्चनजंघा नाट्य समूह हुँदै सो कलाकार टोलीले टेलिश्रृंखला, म्यूजिक भिडियो, नाटक, प्रहसन सहितका प्रस्तुतिमा पूर्वमा प्रभावकारी सक्रियता देखाइरहेको छ ।