धरान/बाढीपीडितहरुले राहत नपाएको झोकमा सुनसरीको सदरमुकाम इनरुवादेखि ३ किलोमिटर पश्चिम पूर्वपश्चिम लोकमार्ग अन्तर्गत भोक्राहामा करिव दुईघण्टा ठप्प पारेका छन् । शुक्रबार करिव १ बजेदेखि ३ बजेसम्म यातायात ठप्प पारेका हुन् । जसका कारण काठमाडौंका लागि छुटेका यातायातका साधनहरु रोकिएका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरी र शसस्त्र प्रहरी बलेको सहयोगमा अवरुद्ध राजमार्ग हटाइएको थियो । प्रहरीले अवरुद्ध हटाउने क्रममा झडपको स्थिति सिर्जना भएको थियो । बाढीपीडितहरुले राहत नपाइञ्जेलसम्म नखोल्ने भन्दै प्रहरीलाई नै दवाव सिर्जना गरेका थिए । बाढीपीडितहरुले आफूहरुलाई कुनै पनि राहत वितरण नगरेको र सबै राहतहरु अन्यत्रमात्रै दिएको भन्दै महेन्द्र लोकमार्ग ठप्प पारेर आन्दोलन गरेका थिए । आन्दोलनमा संलग्न जमिल अख्तर मियाले आफूहरुलाई राहत वितरणमा भेदभाव गरेकाले बाध्य भएर आन्दोलन गर्नु परेको बताए । जिल्ला प्रहरी तथा सशस्त्र प्रहरीको सहयोगमा लोकमार्ग खुलाइएको थियो । पीडितहरुका अनुसार भोक्राहा गाउपालिका ५ क्षेत्रमा करिव १५ सय घरपरिवारहरु बाढी पसेर घरबारविहीन बनेको बताएका छन् । जिल्ला दैवी प्रकोप उद्दार समितिको प्रारम्भिक प्रतिवेदनमा सुनसरीमा आशिंक घर १३ हजार ६६९ र पूर्ण क्षति ३२३२ भएको तथ्याङ्क शुत्रबारै सार्वजनिक गरेको छ । सुनसरीमा दुई अरव ३२ करोड पाँच लाख ३२ हजार ८८ रुपैयाको क्षति भएको जनाइएको छ ।