काठमाण्डौ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल टाइफाइड भएपछि उपचारका लागि वीर अस्पताल भर्ना भएका छन् । वीर अस्पतालका निर्देशक प्राडा भूपेन्द्र बस्नेतले मन्त्री पोखरेललाई टाइफाइड भएको र निमोनियाको पनि लक्षण देखिएको जानकारी दिए । उनलाई घाँटी दुख्ने, रुघाखोकी र छातीमा समेत समस्या देखिएको छ । आत्तिहाल्नुपर्ने अवस्था नरहे पनि पूर्णरुपमा आरामको जरुरी भएकोले करिब तीन दिन अस्पतालमा नै उपचार गराउनु पर्ने उनको भनाइ छ । वीर अस्पतालका वरिष्ठ फिजिसियन डा सुरेन्द्र श्रेष्ठ मन्त्री पोखरेलको उपचारमा संलग्न छन् । वर्षापछि आएको बाढीपछि राहत र उद्धारका लागि तराई पुगेका मन्त्री पोखरेल एक सातादेखि नै अस्वस्थ भएकाले चिकित्सकको निगरानीमा थिए । उनका प्रेस संयोजक सरोज ढुंगेलले चिकित्सकको निगरानी रही औषधि सेवन गरेपछि समस्या बढ्दै गएपछि आइतवार दिउँसो अस्पताल भर्ना गरिएको जानकारी दिए ।