धरान/भनिन्छ ‘नखाएको विष लाग्दैन, तर नखाएको विष लाग्यो भने के गर्ने त ?’ यस्तै आफ्नो आमाको क्यान्सरको उपचार गर्न भारतको सिलगुढीको एउटा अस्पताल पुगेका एक नेपाली युवकले नखाएको विष लागेको कारण उक्त अस्पतालको हाताबाट नै गिरफ्तारीमा पर्नुपरेको बताएका छन् ।

सूर्योदय नगरपालिका–१० निवासी उदयहाङ फागोले कुनै अपराध नै नगरे पनि १८ दिन सिलगुढी जेलमा बन्दी जीवन बिताउनु परेको थियो । उनलाई भारतको पश्चिम बंगाल प्रहरीले दार्जिलिङ आन्दोलनलगायतका आपराधिक गतिविधिमा संलग्न रहेको भन्दै झुटा आरोप लगाएर पक्राउ गरेको हो ।

मानव अधिकार परिषद् नेपालले आयोजना गरेको आजको पत्रकारसम्मलेनमा पीडित उदयहाङ फागोकी दिदी साधना फागोले सरकारले आफ्नो भाइलाई भारतीय प्रहरीले झुटा मुद्दा लगाएको विषयमा भारतसँग कुरा उठाइदिन आग्रह गरिन् ।

पीडित उदयहाङ फागोले आफ्नो आमालाई क्यान्सरको उपचारका लागि सिलगुढी अस्पतालमा गएका बेला दार्जिलिङ आन्दोलनमा सहभागी भएको भन्दै आफूलाई झुटो आरोप लगाएर भारतीय प्रहरीले पक्राउ गरेर १८ दिनसम्म यातना दिएको बताए ।

दुई मिनेटका लागि भनेर प्रहरीले पक्राउ गरेर लगे पनि आफूलाई अलमल्याएर भोलिपल्टसम्म प्रहरी हिरासतमा राखेर आफूविरुद्ध अदालतमा मुद्दा दायर गरेको उदयहाङले बताए ।

अहिले पनि साधारण तारेखमा छुटाइएको भन्दै उदयकी दिदी साधनाले अब तारेख धाउन नजाने अडान लिँदै नेपाल सरकारले नै यसबारेमा अवगत गराउनुपर्छ भनिन् ।

सरकारलाई ध्यानाकर्षण गराउँदा पनि छुटाउनका लागि कुनै पहल नगरिएको उदयका दाजु शरण फागोले बताए । रासस