त्रिवि कार्यकारी परिषद्ले गठन गरेको अनुगमन समितिले बुधबार घट्टेकुलोस्थित काठमाडौं नेसनल मेडिकल कलेज शिक्षण अस्पतालको अनुगमन र निरीक्षण गरेको छ। अनुगमनका क्रममा अस्पताल पुगेको टोलीले डाक्टर, अस्पताल प्रशासनका कर्मचारी र बिरामी कोही पनि भेटेन।
यो त्यही मेडिकल कलेजको अस्पताल हो जसलाई त्रिवि कार्यकारी परिषदले साउन १२ गते सम्बन्धन दिएको थियो।
क्रममा स्वास्थ्य मन्त्रालयबाट स्वीकृति नलिएको र मापदण्ड पनि पूरा नगरेको सुनसान अस्पताललाई सम्बन्धन दिएपछि सर्वत्र विरोध भएको थियो। विरोधपछि परिषदले गत शनिबार सम्बन्धन स्थगन गर्दै अस्पतालको अनुगमन गर्न तीन सदस्यीय अनुगमन टोली गठन गरेको थियो।
सनत देवकोटाको संयोजकत्वमा गठीत समितिले छानबिन र अनुगमन गरी बुधबार बिहान काठमाडौं नेसनलको शिक्षण अस्पताल पुगेर गरेको अध्ययन र अनुसन्धानबाट कलेज वैद्य नभएको निष्कर्ष निकालेको छ।
आज अनुगमनमा जाँदा अस्पतालमा न कुनै डाक्टर थिए, न कोही बिरामी थिएनन्। सुनसान अस्पतालको अनुगमनपछि टोलीका सदस्यले अस्पतालमा पत्र बुझाउने कर्मचारीसमेत नभेटेपछि सुरक्षा गार्डलाई पत्र बुझाएर निस्किएका छन्।
टोलीले अस्पतालको हरेक विभाग र वार्डमा दुई घन्टा अनुगमन गरेको थियो। अनुगमनका क्रममा अस्पतालका सबै बेड रित्ता थिए। प्रशासनका कर्मचारी र डाक्टर समेत थिएनन्।
टोलीले अस्पतालमा बिरामीको रकेर्ड राख्ने फाइल पल्टाएर समेत हेरेको थियो। त्यहाँ २०७१ चैतदेखि कुनै पनि बिरामी भर्ना भएका थिएनन्। अस्पतालको फार्मेसीमा औषधि पनि थिएन।
सेताेपाटी