धरान/धरान–१३ वडालाई लक्षित गर्दै मनोज राई स्मृति टोल स्तरीय फुटबल प्रतियोगिता शनिबारदेखि धरानमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सुम्निमा फुटबल क्लवले विजयी सुरुवात गरेको छ । उसले अमर सेवा समाज समूह सीलाई ४–३ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश ग¥यो । खेलको म्यान अफ दि म्याच सुम्निमाका खेलाडी मनदीप बस्नेत घोषित हुँदै मेडल र उपहार पाए । नेपाली कांग्रेस १३ नम्बर वडा लोकतान्त्रिक खेलकुद संघको आयोजनामा भइरहेको प्रतियोगितामा १३ नम्बर वडाका टिमहरु सहभागी छन् । विजेताले ३० हजार एकसय रुपैया, उपविजेताले १५ हजार एकसय रुपैयासहित ट्रफी र मेडल प्राप्त गर्ने छन् । त्यस्तै नेकपा एमाले सम्बद्ध युवा संघ नेपाल धरान–११ नम्बर वडा कमिटीले शनिबारदेखि नै अन्तर चोक स्तरीय ‘वडाध्यक्ष कप’ सुरु गरेको छ । प्रतियोगिताको उद्घाटन खेल मंगलबारे क्लव र शान्तिचोकबीच भएको थियो । मंगलबारेले शान्तिचोकलाई ८–० गोल अन्तरले हराउन सफल भएको छ । प्रतियोगितामा १३ वटा टिमहरु सहभागी छन् । प्रतियोगितामा विजेताले नगद १५ हजार र उपविजेताले नगद १० हजार रुपैयासहित ट्रफी र मेडल प्राप्त गर्ने खेलकुद परिचालन कमिटीका सुरज लामाले बताए । प्रतियोगिताको फाइनल असोज १ गते हुने भएको छ ।