इटहरी/स्वास्थ्य मन्त्रालयले सुनसरी जिल्लाको धरान र इटहरी उपमहानगरपालिका क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्रबाहेक केही उच्चस्तरीय चिकित्सा सेवा उपलब्ध गराउन रु दुई करोड बजेट निकासा गरेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत धरान र इटहरी उपमहानगरपालिका क्षेत्रमा बसोबास गर्दै आएका सेवाग्राही नगरवासीको स्वास्थ्य सेवाका क्षेत्रमा उच्चस्तरीय सेवा उपलब्ध गराउन प्राथमिक स्वास्थ्य केन्द्रभन्दा एक तह माथिल्लो तहको स्वास्थ्य सेवा उपलब्ध गराउन उक्त बजेट निकासा दिएको जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीले जानकारी दिएको छ ।
धरान र इटहरी उपमहानगरकाका लागि रु एक, एक करोडमा स्तरीय चिकित्सा सेवासहित सर्वसाधारण सेवाग्राहीलाई स्वास्थ्य सेवा उपलब्ध गराउनेगरी उक्त रकम भौतिक पूर्वाधार निर्माण लगायतमा खर्च गर्नेगरी विनियोजन भई आएको कार्यक्रमका सम्पर्क व्यक्ति ९फोकल पर्सन० राजनारायण मण्डलले जानकारी दिए।
उनले उक्त रकम दुवै उपमहानगरपालिकाको खातामा जम्मा भई सकेको तर चालु आर्थिक बर्षको बजेट सार्वजनिक गर्दा त्यो बजेटको विषयमा नगर परिषदसभामा त्यस विषयलाई प्राथमिकतामा पारेको नदेखिदा कार्यक्रम हराउने खतरा बढेको कुरा उहाँले सार्वजनिक गर्नुभएको छ ।
यसअघि पनि इटहरी उपमहानगरपालिकाका लागि शहरी स्वास्थ्य कार्यक्रममार्फत रु ५० लाख विनियोजन भई आएको र त्यो रकमका विषयमा पनि अहिलेसम्म इटहरी नगरपालिकाले सार्थक काम गर्न नसकेको पाइएकाले यसपटक आएको बजेट पनि हराउने पो हो कि भन्ने खतरा देखिएको मण्डलको भनाइ छ ।
दुवै नगरपालिकाको नाममा आइसकेको बजेट नगर परिषद्सभाले त्यसको प्रयोजनका विषयमा मौन देखिनुले पनि बजेट हराउनसक्ने खतरा देखिएकाले यो विषयलाई सार्वजनिक गर्न जरुरी देखिएको र विगतमा इटहरीमा आएको रु ५० लाखसमेत प्रयोगविहीन भइरहेको समेत उनले गुनासो गरे ।