भद्रपुर । झापाको भद्रपुरमा १२ सयभन्दा बढी सेवाग्राहीले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् । भद्रपुर नगरपालिका र वीरेन्द्र एलुम्नाई एशोसिएशन काठमाडौं चन्द्रगढीको संयुक्त आयोजनामा सोमवार वीरेन्द्र मावि परिसरमा आयोजित बृहत निःशुल्क स्वास्थ्य शिविरबाट भद्रपुर नगर क्षेत्रका विरामीले सेवा लिएका हुन् । झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शिविरको उद्घाटन गरेका थिए । जेष्ठ नागरिकहरुलाई पहिलो प्राथमिकता दिइएको शिविरमा सबै उमेर समूहकाले सेवा लिएका थिए । सेवालिन भद्रपुरको सबै क्षेत्रबाट विरामीहरु शिविरमा आएका थिए । विशेषज्ञ चिकित्सक समेत दुई दर्जनजति चिकित्सकको टोलीले विरामीहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क रुपमै ल्याव सेवा र औषधि उपलब्ध गराइएको थियो । शिविरमा पेट तथा छाती, मुटुरोग, महिला तथा प्रसुती, हाडजोर्नी तथा नसा, छाला, बालरोग उपचार, मानसिक रोगसम्बन्धी बिरामीको उपचार गरिएको र मधुमेह, हेमोग्लोविन, इसीजी, इसीओ, अल्टसाउण्ड जस्ता प्राविधिक परीक्षण गरिएको थियो । शिविरमा मुटु, पेट तथा छाती सम्बन्धी बिरामी निकै आएको आयोजकले जनाएको छ । शिविरमा नोवेल हस्पिटलका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेश नेपालको टिम, मेची अञ्चल अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ टंकप्रसाद बाराकोटी, वरिष्ठ सर्जन डा. रामबाबु खड्का, वरिष्ठ फिजिसियन डा. गोविन्दराज कँडेल, वरिष्ठ मनोचिकित्सक डा. नवराज कोइराला, वरिष्ठ छाला रोग विशेषज्ञ डा. केशव ढकाल लगायतले सेवा पुर्याएका थिए । विराटनगरको नोवेल हस्पिटल तथा मेची अञ्चल अस्पतालको प्राविधिक सहयोग रहेको स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गर्न भद्रपुरमा क्रियाशील भद्रपुर जेसीज, रोटरी क्लव अफ भद्रपुर, रोटरी क्लव अफ काठमाडौं, रोटरी क्लव अफ लगायतका सामाजिक संघसंस्थाले सहयोग पुर्याएका थिए भने स्काउट लगायतले शिविर व्यवस्थापनमा सहयोग पुर्याएका थिए । वीरेन्द्र माविका पूर्व विद्यार्थीहरुको संगठन वीरेन्द्र एलुम्नाई एशोसिएशन काठमाडौं चन्द्रगढीका अध्यक्ष पुस्कर भुर्तेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नोवेल हस्पिटलका व्यवस्थापक नारायण दाहालले नोवेल हस्पिटलले पुर्याइ रहेको सेवाबारे जानकारी गराएका थिए । वीरेन्द्र माविका पूर्व विद्यार्थी जय तिम्सिनाले सञ्चालन गरेको कार्यक्रममा वीरेन्द्र माविका प्राचार्य टंकनाथ पाण्डेले स्वागत गरेका थिए भने नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले नगर सभाको निर्णय अनुसार शिविर आयोजना गरिएको जानकारी दिए । शिविर सफल बनाउन भूमिका निर्वाह गर्ने सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।