कात्तिक ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘ऐश्वर्य’बाट यतिबेला नव-नायिका दीपिका प्रसाई राम्रै चर्चामा छिन् । ‘तिमी रोएको पल’ बोलको गीतबाट सुन्दरताको तारिफ पाएकी दीपिका फिल्मको ट्रेलरमा विकिनीमा देखिएपछि त अझ उनको चर्चाले आकाश छोएको छ । ‘ऐश्वर्य’बाट उनी नेपाली रजतपटमा भित्रिन लागेकी हुन् । पहिलो फिल्ममा नै नव-नायिकाहरु विकिनीमा प्रस्तुत हुन चाहन्नन् । तर, दीपिका भने पहिलो फिल्ममा नै विकिनी लगाएर चर्चामा आएकी छिन् । सुरुमा त दीपिकाले विकिनी सिन दिन अस्वीकार गरेकी थिइन् तर कथाको माग अनुसार उनी खुसीपूर्वक विकिन लगाउन तयार भएकी थिइन् । फिल्मीखबर डटकमसँगको कुराकानीको क्रममा दीपिकाले भनिन्, ‘पहिलो फिल्ममा नै बोल्ड खाल्को क्यारेक्टर गर्न पाए हुन्थ्यो भन्ने चाहना थियो र कथावस्तु पनि त्यस्तै पाएँ । ‘ऐश्वर्य’मार्फत मेरो चाहना पुरा भयो ।’ ‘ऐश्वर्य’मा सुपर मोडलको भूमिकामा देखिएकी दीपिका मोडलिङ पेशामा आवद्ध मोडलको भूमिकामा छिन् । फिल्मको ट्रेलर र टीजरमा उनको विकिनी अवतारमा फोटोसुट गरिएको दृश्य समावेश छ । फिल्ममा दीपिकाले रमेश उप्रेतीसँग रोमान्स गरेकी छिन् । सुदीप बरालले खिचेको यो फिल्ममा रमेश उप्रेती, प्रशान्त ताम्राकार, दीपिका प्रसाई, केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ, केशव भट्टराई, विकास खतिवडा लगायतका कलाकारहरुको अभिनय छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । यो फिल्मलाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् ।