धरान/तीनवटा फिचर फिल्ममा काम गरिसकेका कलाकार हेम राईले आफ्नो स्वरमा ‘नौमति बाजा’ नामक गीत स्रोता माझ ल्याएका छन् ।
कलाकार राईले पहिलो पटक उक्त गीतको म्युजिक भिडियोसमेत हाइलाइट्स नेपालबाट सार्वजनिक गरेका छन् । चारदिन अघि सार्वजनिक गरिएको गीतमा मोडलका रुपमा गायक स्वयम्लाई देख्न सकिन्छ भने उनलाई मोडल रितु नेम्वाङले साथ दिएकी छन् ।
तर, स्वरमा भने उनलाई देशू सुहाङले साथ दिएकी छन् । खगेन्द्र पन्धाकको निर्देशनमा बनेको उक्त म्युजिक भिडियो काठमाडौंको झरुवारासीमा छायांकन गरिएको छ । पूर्वेली लोकभाकामा रहेको उक्त गीतको शब्द संगीत निर्देशक पन्धाकको रहेको छ । ढेड लाख रुपैयाको लागतमा निर्माण गरिएको उक्त म्युजिक भिडियोबाट कलाकार राईले निक्कै नै अपेक्षा गरेका छन् ।
कलाकार राईले यस अघि नेपाली फिचर फिल्म पार्सल, चुकेको चुरा, र द प्लानमा खेलिसकेका छन् । त्यस्तै जिरे खोर्सानी र झ्याईकुट्टी झ्याई टेलिसिरियलमा पनि उनले अभियन गरेका छन् ।
सानैदेखि गीतसंगीतमा लागे पनि उनले पहिलो पटक आफ्नै स्वरमा गीत ल्याएको बताए । त्यसो त, रोशन वान्तवाको ‘लाग्छ मन तिमीलाई’ बोलको गीत रेकर्ड गरे पनि हालसम्म सार्वजनिक गरेका छन् । उनी बैदेशिक रोजगारीको सिलशिलामा हाल १९९४ यता हङकङमा रहेका छन् ।