काठमाडौं/नेपाली सिनेमाको बजार विस्तारै बढ्दै गएको छ । वर्ष २०७४ का धेरै जसो सिनेमा व्यावसायिक हिसाबले सफल रहेका छन् । सिनेमाको सफलतासँगै अहिले कलाकारहरुले पनि हरेक कुरामा ध्यान दिँदै आएका छन् । विशेष गरी अभिनेताहरुको कुरा गर्ने हो भने उनीहरुले कामसँगै आफ्नो पारिश्रमिकमा पनि ध्यान दिन थालेका छन् । गत वर्ष अभिनेता अनमोल केसीले एक सिनेमामा काम गरेबापत २२ लाख लिएर चर्चामा आए । नेपाली सिने उद्योगको स्तर हेर्दा यो पारिश्रमिक धेरै मानिएको थियो । त्यसबखत उनलाई सफलताको घमण्ड र स्टारडमको मात लागेको भन्नेहरु पनि धेरै भए । उनले अहिले छायांकन भइरहेको सिनेमा ‘कृ’का लागि यो पारिश्रमिक लिएका हुन् । त्यस्तै अर्का अभिनेता प्रदीप खड्काले पनि सिनेमा ‘लिलिबिली’मा २३ लाख रुपैयाँ पारिश्रमिकमै अनुबन्धित भएर अहिले सिनेमाको छायाकंनमा जुटेका छन् । उता निखिल उप्रेतीले भने एक सिनेमामा काम गरेको २५ लाखसम्म माग गरे तर उनी यो पारिश्रमिकमा अनुबन्धित भएको आधिकारिक जानकारी भने अहिले सम्म आएको छैन । यहि क्रममा अर्का एक अभिनेताले पनि आफूलाई महंगो अभिनेताको सूचिमा सामेल गराएका छन् । ती अभिनेता अरु कोही नभयर ‘छड्के’ ‘जात्रा’ र ‘पशुपति प्रसाद’ जस्ता सिनेमामा काम गरेका विपिन कार्की हुन् । विपिन कार्कीले आगामी एक सिनेमाका लागि १८ लाख पारिश्रमिकमा अनुबन्ध भएको खबर बाहिरिएको छ ।  नाम नखुलेको यस सिनेमालाई निश्चल बस्नेतले निर्देशन गर्ने भएका छन् । यस सिनेमामा निश्चलले पनि महंगो पारिश्रमिक लिएको बुझिएको छ ।