धरान/स्कुल छाड्नु अघि विद्यार्थीहरुलाई उपलब्ध गराइने ‘स्थानान्तर/चारित्रिक प्रमाण पत्र’ मा धरान–१६ को चन्द्रसंस्कृति उच्चमाविले दोहोरो शुल्क लिने गरेको पाइएको छ ।
[caption id="attachment_59678" align="alignleft" width="621"]
चारित्रिक प्रमाण पत्रको लागि दोहोरो शुल्क लिएको स्कुलको बिल भर्पाई । तस्बिरः ब्लाष्ट/भोजराज[/caption]
एसईई परीक्षामा ग्रेडिङका लागि पुनः परीक्षा दिएका विद्यार्थीहरुलाई यसरी दोहोरो शुल्क लिइएको हो । पुनः शुल्क लिने विषयमा स्कुलका प्राधानाध्यापकले विद्यालय व्यवस्थापन समिति (विव्यास) सँग भने आधिकारिक निर्णय नगरेको पाइएको छ । तर, प्रअ अजय साहीले भने निर्णय गरेको फोनमा दाबी गरेका थिए । यस विषयमा बुझ्नको लागि ब्लाष्टकर्मी स्कुलमा पुगेर निर्णय बारे कर्मचारी/शिक्षकहरुसँग बुझ्दा कुनै पनि निर्णय नगरेको पाइयो । त्यति मात्रै हैन, शुल्क लिने विषयमा प्रअले कर्मचारीहरुसँग सामान्य छलफल गरेर ५ सय रुपैया लिने भनेर तोकेको कर्मचारीहरुले बताए ।
उनले अन्य स्कुलले हामीले भन्दा धेरै शुल्क लिने गरेको भन्दै अन्य स्कुललाई दोष थोर्पने प्रयास गरेका थिए । ‘अरु स्कुलले हामीले भन्दा धेरै लिइरहेका छन् । हामीले त थोरै लिएका छौं ।’ उनले भने, ‘हामीले २ सय रुपैया थपेका छौं । पाँचसय केमा लिएको हो म बुझौला ।’ उनका अनुसार त्यो २ सय रुपैया पनि अर्को नयाँ चारित्रिक प्रमाण पत्र बनाएर दिएको हिसावमा सहयोगको रुपमा लिएको बताए । तर, विद्यार्थी पदमप्रसाद खनालका अनुसार प्रअले ५ सय रुपैया लाग्ने त्यसमा जिल्ला शिक्षा जाँदा आउँदाको आतेजाते खर्च पनि जोडिएको हो भनेर भनेका थिए । उनले भने, ‘चारित्रिकका लागि पुनः ५ सय रुपैया तिर्नुपर्छ अनिमात्रै लान पाइन्छ भनेर हेडसरले भन्नुभयो । मैले के को पाँचसय रुपैया भन्दा उहाँले कुरै सुन्न चाहानुभएन ।’ उनले भाइ ख्यामप्रसाद खनाल र आफ्नो गरेर एक हजार रुपैया तिरेको बिल भर्पाइसमेत आफूसँग रहेको बताए ।
‘अध्यक्ष, सदस्यहरु बसेर निर्णय गरेको छ भने तिर्छु भने ।’ उनले भने, ‘चारित्रिकको ३ सय रुपैया र आतेजातेको २ सय रुपैया लिनुभयो ।’ यथार्थमा दोहोरो शुल्क लिन पाउने प्रावधान नभएको जिल्ला शिक्षा कार्यालयका जिल्ला शिक्षा अधिकारी खगेन्द्रप्रसाद सुवेदी बताउँछन् । ‘एकचोटी लिइसकेपछि अर्कोचोटी लिन पाइदैन ।’ उनले फोनमा भने, ‘यसरी दोहोरो लियो पैसा फिर्ता गरिपाउँ भनेर हामीलाई एप्लिकेसन हाल्यो भने तुरुन्तै फिर्ता गर्न लगाइदिइहाल्छौं, कारबाही पनि गर्छौं । कति स्कुललाई कारबाही पनि गरेका छौं ।’