शनिश्चरे /गत वर्ष डेंगु रोगबाट प्रभावित मोरङको पथरीशनिश्चरेमा यो वर्ष डेंगु सहित औलो रोग समेत देखा परेको छ ।

नगरको पथरी बजार क्षेत्रमा २ जनामा डेंगु र २ जनामा औलो देखा परेको छ । पथरीशनिश्चरे १ का ३६ वर्षीया कुमार राई र पथरीस्थित एनआइसी एशिया बैंकमा कार्यरत झापा विर्तामोड ५ की २५ वर्षीया सुस्मिता कोइरालामा डेंगुको संक्रमण देखा परेको हो ।

राईको पथरीस्थित मोरङ हस्पिटलमा डेंगुको संक्रमण पत्ता लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । उनलाई त डेंगुसँगै औलो पनि देखा परेको छ । विर्तामोडस्थित वीएण्डसी अस्पतालमा आफुले उपचार गराइरहेको कोइरालाले जनाइन् ।

मोरङ अस्पतालमा उपचारमा आएमध्ये पथरीशनिश्चरे १ की २३ वर्षीया शान्ति राईलाई औलोको ‘प्याज्मोडियम भाइवेक्स’ र पथरीशनिश्चरे २ की ११ वर्षीया आयुषा राईलाई कडाखाले औलो ‘फेलिसफेरम’ देखा परेको अस्पतालका डाक्टर उमेश गुरागाईले उल्लेख गरेका छन् । डाक्टर गुरागाईंले जाडो बढ्न थालेपनि पथरी बजार क्षेत्रमा डेंगु र औलो सार्ने लामखुट्टे अझ सक्रिय भएकाले लामखुट्टेको नियन्त्रणमा सम्बन्धित निकायले तत्कालै कदम चाल्नु पर्ने आवश्यकता औंल्याए । उनले भने ‘ यहाँ त एउटै मानिसलाई दुई प्रकारको लामखुट्टेले टोकेर डेंगु र औलो भएको पाइएको छ । जस अनुसार लामखुट्टेको बढ्दो सक्रियतालाई बेलैमा निस्तेज नपारे महामारीको रुप लिन सक्ने देखिन्छ ।’

पथरी बजार क्षेत्रमा डेंगु र औलो रोग देखा परेपछि लामखुट्टे नियन्त्रणका लागि पथरीशनिश्चरे नगरपालिका र पथरी स्वास्थ्य चौकीले सक्रियता देखाएको छ । वडा नम्बर १ का अध्यक्ष बाबुराम एङ्देनको अगुवाईमा स्वास्थ्य चौकी प्रमुख मुरारी आचार्यले झापाको दमक पुगी लामखुट्टे मार्न मालाथिन औषधि खरिद गरेको र बुधबार बेलुका बजार क्षेत्रमा औषधि छर्किने तयारी भएको छ ।

पथरी र उर्लाबारीमा विशेषगरी अव्यवस्थित रुपमा राखिएका टायरमा जमेको पानीमा त्यसखाले लामखुट्टे फेला परेका छन् । गत वर्षपनि पथरी पूर्वस्टेण्डमा रहेको मोहमद इकलाकले सञ्चालन गरेको मोटरसाइकल पन्चर टाल्ने पसलमा राखिएको टायर तथा अन्यत्र फालिएको टायरमा इडिस एजिप्टाई जातको लामखुट्टे फेला परेको थियो । तर पसलेले अटेर गरेर टायर वाहिर राखिरहँदा त्यसमा जमेको पानीमा यस वर्षपनि सोही प्रकारका लामखुट्टे भेटिएको छ ।

उर्लाबारीमा पनि यो वर्ष समेत डेंगुका विरामी देखा परेपछि ३ दिन लगाएर त्यहाँ मालाथिन औषधि छर्कने काम भइरहेको छ ।

कुलर, गमला, टिन, प्लाष्टिकका डब्बा, टायरहरुमा पानी जम्न नदिनु नै डेंगु रोग नियन्त्रणको उपाय रहेको जनाउँदै १ महिना अघि पथरी बजारमा जिल्ला जनस्वास्थ्यको टोलीले स्थानीयलाइ सचेत गराएको थियो ।

गत वर्ष झापाको दमकमा डेंगुले महामारीकै रुप लिएको थियो । जसबाट छिमेकी नगर उर्लाबारीमा गत वर्ष ९ जनामा डेंगु देखा परेको थियो भनें यस वर्ष पनि केहीमा देखा परेको छ । पथरीशनिश्चरेको पथरी बजारमा गत वर्ष ३ जनामा यो रोग देखा परेको थियो ।