धरान /उमेर ढल्कदै गर्दा वा मोटोपन बढ्दै गर्दा चिनि रोगले सताउने गर्छ । विशेषगरी खानपीनमा ध्यान नदिने र शारीरिक व्यायमको अभ्यास नभएकै कारण अधिकांश व्यक्तिलाई व्यसक उमेरदेखि नै चिनीरोगले सताउने गरेको पाइन्छ । यसै विषयलाई मध्यनजर गर्दै रोटर्याक्ट क्लब ओफ धरान घोपाले निःशुल्क चिनीरोग जाचको अवसर दिएको छ । अर्थात सुगर जाँच गर्न चाहने व्यक्तिका लागि कार्तिक २८ गते रोटर्याक्ट क्लब ओफ धरान घोपा पुरानो अस्पताल परिसर , छाता चोकमा बिहान सात बजे देखि आठ बजेसम्म निःशुल्क परीक्षण गर्ने भएकाे छ । इच्छुक व्यक्तिले खाना खानु अघि र खाना खाएपछि आफ्नो शरीरमा भएको सुगरको मात्रालाई निःशुल्क जाँच गर्न सक्नेछन् ।
विश्व मधुमेह दिवसको अवसरमा धरानको बि. पि. कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानको रोटर्याक्ट क्लब ओफ धरान घोपाले रोटरी क्लब ओफ धरान घोपा, लायन्स क्लब अफ धरान विजयपुर , लायन्स क्लब अफ धरान बुढासुब्बासंग संयुक्त रुपमा नि: शुल्क चिनीरोग परीक्षण कार्यक्रम आयोजना गर्ने जानकारी सो क्लबका जनसम्पर्क अधिकृत रोटर्याक्टर शुभम कुमार अग्रवालले दिए । शरीरको महत्वपूर्ण अंग अन्तर्गतको किड्नी खराब भएको अग्रिम जानकारी नहुने वा कुनै लक्षण नदेखिने भएकै कारण अधिकांश व्यक्तिहरु उक्त अंग बिग्रीएर अन्तिम अवस्थामा पुगेपछि मात्र जानकारी पाउँछन् । नियमित परीक्षण गर्ने बानी नभएकै कारण पनि नेपालीहरु दीर्घकालिनरोगका सिकार हुने गरेका छन् ।
बि. पि. कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा एम. बि. बि. एस. तेस्रो वर्षमा अध्ययनरत रोटर्याक्टर शुभम कुमार अग्रवाललेले भने , ‘रगतमा हुने चिनिको मात्राले मानव शरीरमा हुने मृगौलासँग प्रत्यक्ष सरोकार राख्दछ । अधिकांश चिनि रोगका बिरामीहरुलाई बिस्तारै मृगौलाको समस्या देखिने गरेको पाइन्छ । महत्वपूर्ण अंगहरु शुरक्षित राख्नका लागि शरीरमा हुने चिनीको मात्रालाई नियन्त्रणमा राख्नु आवश्यक हुन्छ ।' उनका अनुसार स्वस्थ्य व्यक्तिले प्रत्येक तीन महिनामा शरीरमा हुने चिनीको मात्रा र मृगौलाको परीक्षण नियमित गराउन आवश्यक छ ।