दमक/ जन्मँदै अनुहारको एक छेउमा रातो मासु देखिएका झापा, बिर्तामोडका २० वर्षीय पुजन पाँचकोटीको अहिले अनुहारभरि ऐंजेरु फैलिएको छ ।

अनुहारको देब्रे भागमा ऐंजेरुले ढाकिसक्यो भने अनुहारको अर्को भागतिर फैलिने क्रममा छ । “ऐंजेरुले अनुहार नै नचिन्ने बनायो” उपचारका लागि याचना माग्ने क्रममा सञ्चारकर्मीसँग उनले दुःखेसो पोखे, “डाक्टरले उपचार गरे जाती हुन्छ भनेका छन्, उपचार गर्ने आफूसँग पैसा छैन ।”

पाँचकोटी अभिभावकविहीन हुन् । बिर्तामोडको कालीस्थानमा सानैमा बुबा चन्द्र बितेका र आमाले दोस्रो विवाह गरेपछि उनी सहाराविहीन भएका थिए । बाल्यकालमा टुहुरा बनेपछि उनी भारतको दार्जिलिङस्थित सुकुनास्थित मावलघरमा हुर्के-बढेका हुन् । धैरै बसाइ मामाघरमा नै बित्यो तर त्यहाँका पनि आर्थिक अवस्था कमजोर भएका कारण उनले यतिका समयसम्म अनुहारमा ऐंजेरु बोकेर हिँडडुल गर्न बाध्य भएको छ ।

पाँचकोटीका अनुसार भारत, बङ्लोरको एक अस्पतालमा उपचार गर्न सिलगुढीका एक अस्पतालले सिफारिस गरे पनि पैसा नभएपछि उनको उपचार रोकिएको हो । “कहिले नेपाल त कहिले भारततिर यताउता पैसा जोहो गर्दा भारु एक लाख जति उठाएको छु” उनले भने,“तर अस्पतालमा लाग्ने जति पैसा नहुँदा त्यत्तिकै रोग पाल्न बाध्य छु ।”

अस्पतालले उपचारका लागि करिब रु तीन लाख भारु लाग्ने भनेको छ । बिर्तामोडको कालिका स्कुलमा कक्षा ११ मा अध्ययनरत उनले यतिखेर ऐंजेरुको उपचार गर्न बजार, चोकमा याचना गर्दै आएको छ । “अरु जस्तै हुनमन छ” पाँचकोटीले भने,“दयालु मनकारीको खोजीमा छु ।”