शनिश्चरे/ विहीवारको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का २ जना उम्मेदवारले आफैंले आफैंलाई मतदान गर्न पाएनन् ।
वाम गठवन्धनका तर्फबाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार भानुभक्त ढकालको मतदाता नामावली आफ्नो क्षेत्रमा नरहेकाले उनले यो पटक मतदान नै गरेनन् । काठमाडौंको वल्खुमा उनको मतदानस्थल रहेको र वुधबार अवेरसम्म आफ्नै निर्वाचन क्षेत्रमा रहनुभएकाले उनी काठमाडौं नगएका कारण मतदान नै गर्न नपाएका हुन् । त्यस्तै, वाम गठवन्धनका तर्फबाट माओवादी केन्द्रकी प्रदेशसभा (क) की उम्मेदवार गीता तिम्सिनाले बेलबारीस्थित डाँगीहाटको काली मावि मतदान केन्द्रबाट मतदान गरेपनि आफुले आफैंलाई भनें मत हाल्न पाइनन् । उनको सो मतदानस्थल (ख) प्रदेशमा परेकाले मत आफ्नालागि उपयोग नभएको हो । सो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सुनील शर्माले बेलबारी ४ को पञ्चज्योति आधारभूत विद्यालयबाट, (क) का प्रदेशसभा सदस्यका उम्मेदवार सूयर्माराज राईले कानेपोखरी ५ स्थित श्रीमावि भौंसाबारीबाट र (ख) का ललित श्रेष्ठले सुन्दरहरैंचा ९ स्थित बुधबारेको जनता माविबाट मतदान गरेका छन् । कांग्रेसका समानुपातिक उम्मेदवार लोकप्रसाद संग्रौलाले सुन्दरहरैंचा ८ को शिक्षा निकेतन माविबाट मतदान गरेका छन् । वाम गठवन्धनका लागि एमालेका तर्फबाट प्रदेश (ख) का उम्मेदवार राजकुमार ओझाले सुन्दरहरैंचा ११ को महेन्द्र माविबाट, प्रदेश (क) की एमालेका तर्फबाट समानुपातिक उम्मेदवार कृष्णकुमारी राईले पथरीशनिश्चरे १ को पथरी क्याम्पसबाट, माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार रीता गिरीले पथरीशनिश्चरे ३ को चन्द्रकिरातेश्वर माविबाट र सुशीला घिमिरेले विराटनगरको कञ्चनवारी मतदान केन्द्रबाट मतदान गरेका छन् ।वाम गठवन्धनका लागि माओवादीका तर्फबाट प्रतिनिधिसभाका लागि समानुपातिक उम्मेदवार रहेका पूर्व मन्त्री गोपी अछामीले सुन्दरहरैंचा ८ को शिक्षा निकेतन माविबाट मतदान गरेका छन् ।
मोरङ १ मा वामगठवन्धनका लागि एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार घनश्याम खतिवडाले लेटाङ नगरपालिका २ को फडानी लक्ष्मी माविबाट र नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार डिगबहादुर लिम्बूले लेटाङ ६ को महाभारत माविबाट मतदान गरेका छन् । ‘यो निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न यो निर्वाचन ज्यादै महत्वपूर्ण रहन्छ ।’– लिम्बूको प्रतिक्रिया छ ।मोरङ ३ को पथरीशनिश्चरे नगरपालिका, बेलबारी नगरपालिका, सुन्दरहरैंचा नगरपालिका र कानेपोखरी गाउँपालिकामा शान्तिपूर्वक र उत्साहपूर्ण मतदान भइरहेको छ । मोरङको १ नम्बर क्षेत्रको उर्लाबारी नगरपालिका, मिक्लाजुङ र केरावारी गाउँपालिकामा पनि मतदान कार्य शान्तिपूर्वक र उत्साहपूर्ण मतदान भइरहेको छ ।
झापा ५ को दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिका क्षेत्रमा पनि उसैगरी शान्तिपूर्ण र उत्साहपूर्वक मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ ।
ओली, सिटौला र कार्कीको पनि उस्तै अवस्था
झापामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका तीन पार्टीका तीन केन्द्रीय नेताले पनि यसपटक आफैँलाई मतदान गर्न पाएनन् ।झापा क्षेत्र नम्बर ५ का उम्मेदवार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, झापा– ३ का नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला र वाम गठबन्धनबाट झापा– १ का माओवादी केन्द्रका उम्मेदवार सुरेन्द्रकुमार कार्कीले आफैँलाई मत हाल्न नपाएका हुन् ।
एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिटौलाको गृहजिल्ला भए पनि आफ्नो मतदाता नामावलीमा काठमाडौंमा नाम भरेकाले आफ्नो क्षेत्रमा भोट हाल्ने नपाउने अवस्था भएको हो । अध्यक्ष ओलीले झापा ५ को दमकबाट मतदाता नामावली भक्तपुर– २ बाट मतदान गरेका छन् । उता, ३ नम्बर क्षेत्रका उम्मेदवार नेता सिटौलाको मतदाता नामावली झापा १ मा रहेको छ । उनको घर भएको क्षेत्र भद्रपुर नगरपालिकाको वडा नम्बर १० निर्वाचन क्षेत्र नम्बर १ मा परेपछि उनले त्यहीबाट भोट हाल्नु पर्दा आफैंलाई भोट हाल्न नपाएका हुन् । सिटौलाले २०५१ सालको उपनिर्वाचनदेखि हालसम्म मतदान गर्ने अवसर पाएका छैनन् ।त्यस्तै, वाम गठबन्धनका तर्फबाट झापा १ बाट उम्मेदवार बनाइएका सुरेन्द्रकुमार कार्कीको मतदाता नामावली काठमाडौँ १ मा रहेको छ । यसअघि ताप्लेजुङबाट उम्मेदवार बनेका कार्कीले आफैँलाई मतदान गर्न नपाएको यो दोस्रो पटक हो ।