भद्रपुर / दोस्रो चरणका लागि बिहीबार मतदान भएको झापाको मतगणना कार्य शुक्रबार दिउँसो साढे १२ बजेदेखि सुरु हुने भएको छ ।

[caption id="attachment_48782" align="alignleft" width="270"] फाइल फाेटाे[/caption]

झापाको भद्रपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार बिहान ९ देखि साढे १० बजेसम्म बसेको सर्वदलिय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले पाँच बुँदे निर्णय गर्दै शुक्रबार दिउँसो साढे १२ बजेबाट मतगणना सुरु गर्ने सहमति गरेको मुख्य निर्वाचन अधिकृत खिलानाथ रेग्मीले जानकारी दिए । उनका अनुसार झापाका ५ वटै निर्वाचन क्षेत्रमा एउटै समयमा मतगणना हुने छ ।

शुक्रबार अवेर रातीसम्म मतपेटिका संकलन कार्य गर्नु परेकाले आज विहान ७ बजे सर्वदलिय बैठक बस्ने समय तोकिएको थियो । तर, तोकिएको समयमा भन्दा दुई घण्टा ढिलो गरी बैठक बसेको थियो ।

जिल्ला समन्वय समितिको कार्यायलमा झापा क्षेत्र नम्बर १ र ३, जिल्ला शिक्षा कार्यालयमा क्षेत्र नम्बर २, जिल्ला स्काउटमा क्षेत्र नम्बर ४ र जिल्ला हुलाकमा क्षेत्र नम्बर ५ को मतगणना हुने छ ।

मतगणनाका लागि ५ वटा निर्वाचन अधिकृतको कार्यालयको मतगणना स्थलमा ताराजालीसहित सिसि क्यामेरा जडान गरिएको छ । त्यस्तै सदरमुकाम आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था समेत कडा बनाइएको छ ।