सोलुखुम्बु र ओखलढुंगामा वाम गठबन्धनले क्लिनस्विप गरेका छन् । एक, एक वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका यी दुई जिल्लामा सोलुखुम्बुबाट वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार हेमकुमार राई र ओखलढुंगाबाट एमालेका यज्ञराज सुनुवार विजयी भएका हुन् ।

पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीलाई माओवादी केन्द्रका राईले ३ हजार ४ सय ५३ मतान्तरले पराजित गरे । राईले २० हजार ७ सय ४७ मत पाए भने केसीले १७ हजार २ सय ९४ मत ल्याएका हुन् ।

ओखलढुंगामा कांग्रेसका युवा नेता रामहरी खतिवडालाई एमालेका सुनुवारले ५ हजार २ सय ५३ मतान्तरले पराजित गरे । सुनुवारले ३२ हजार ५ सय ८० मत पाए भने खतिवडाले २७ हजार ३ सय २७ मत पाए ।

सोलुखुम्बुको प्रदेश सभा ‘क’ तर्फ वाम गठबन्धनका साझा उम्मेद्धार तथा नेकपा एमालेका नेता उत्तम कुमार बस्नेत १० हजार ७ सय ८५ मतसहित बिजयी भएका छन् । उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका प्रकाशसिंह कार्कीले ८ हजार ९ सय २२ मत पाए ।

प्रदेश ख मा वाम गठबन्धनबाट एमालेका बुद्धिकुमार राजभण्डारी विजयी भएका छन् । उनले १० हजार ३ सय ८७ मत ल्याए भने कांग्रेसका आङ्गेलु शेर्पाले ७ हजार ९ सय २९ मत पाए ।

ओखलढुंगाको प्रदेश सभा क मा वाम गठबन्धनबाट एमालेका अम्बिरबाबु गुरुङ विजयी भए । उनले १८ हजार ९ सय ८ मत ल्याए भने कांग्रेसका पराजित उम्मेदवार मित्रसेन दाहालले ११ हजार ९ सय ६ मत ल्याए ।

प्रदेश ख मा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका मोहन खड्का विजयी भएका छन् । उनले १५ हजार ४ सय ८४ मत ल्याए भने उनका प्रतिद्धन्दी कांग्रेसका प्रदिप सुनुवारले १३ हजार ७ सय ११ मत पाए ।