काठमाडौं/ उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दिपेश पुन दुर्घटनामा परी घाइते भएका छन् । चुनावी विजयसभामा सहभागी हुन रोल्पाबाट दाङ जाँदै गरेका पुन आइतबार दिउसो दुर्घटनामा परेका थिए । रोल्पाको निजिङ र सुलीचौरकोबीचमा रहेको जंगलमा पुन चढेको कार ब्रेक फेल भई दुर्घटनामा परेको थियो । टाउकोमा चोट लागेका उनलाई तत्कालै सुलीचौर स्वास्थ्यचौकीमा लगिएको थियो । स्वास्थ्यचौकीले अन्य ठाउँमा लैजान रेफर गरेपछि तत्कालै भालुवाङमा ल्याई हेलिकोप्टरमार्फत काठमाडौ ल्याइएको उनीसँगै दुर्घटनामा परेका मनोज घर्तीमगरले जानकारी दिए । हेलिकोप्टरबाट काठमाडौ ल्याइएका पुनको  हाल ग्राण्डी इन्टरनेशनल होस्पिटलमा आइसियुमा राखेर उपचार भइरहेको छ । ‘उहाँको आइसियुमा राखेर उपचार भइरहेको छ,’ उपराष्ट्रपतिका पे्रेस सल्लाहकार समेत रहेका मनोजले भने । टाउकोमा रगत जमेको आशंकामा उनको आइसियुमा राखेर उपचार भइरहेको मनोजले जानकारी दिए । उनको अवस्था सुधार भइरहेको र चिकित्सकको सल्ला अनुसार ७२ घण्टापछि  आइसियुबाट बाहिर निकालिने मनोजले जानकारी दिए । दुर्घटनामा मनोजसँगै चालकपनि सामान्य घाइते भएका छन् । गाडीको ब्रेक फेलभएपछि चालकले गाडीलाई भित्तातर्फ ठोक्काएका थिए । ‘चालकको सावधानीका कारण ठूलो क्षति हुन पाएन,’ मनोजले नागरिकसँग भने ।