ताप्लेजुङ । ताप्लेजुङमा प्रतिनिधि तथा प्रदेश सभामा उम्मेदवार रहेका २३ मध्ये १७ जनाको जनामत जफत भएको छ । बिजयी र निकटतम् प्रतिद्धन्दी बाहेक सबै अरु सबैको जनामत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले प्रतिनिधिसभामा २ तथा प्रदेशसभाको १(क) र १(ख) मा २–२ गरी जम्मा ६ जनाको मात्र जनामत जोगिएको जानकारी दिए । जमानत जोगाउने उम्मेदवारले निर्वाचनमा खसेको कुल सदर मतको कम्तिमा १० प्रतिशत मत ल्याउनु पर्छ । एक स्थानको प्रतिनिधिसभामा ८ तथा प्रदेशसभाको १ (क) मा ७ र १(ख) मा ८ गरी जम्मा २३ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । प्रतिनिधिसभाका उम्मेदवारले उम्मेदवारी दर्ता शुल्क बापत जनही १० तथा प्रदेशसभाका उम्मेदवारले जनही ५ हजार रुपैंया जमानत (धरौटी) राख्नुपर्ने हुन्छ । जमानत जोगिनेले उम्मेदवारी दर्ता शुल्क बापत राखेको धरौटी फिर्ता पाउने छन् भने जमानत जोगाउन नसकेका उम्मेदवारको धरौटी बापतको रकम नेपाल सरकारको राजश्व खातामा जम्मा हुने छ । प्रतिनिधिसभामा कुल सदर मत ४९ हजार ३ सय ४५ को ५९.७४ प्रतिशत ल्याएर बिजयी एमालेका योगेशकुमार भट्टराई र ३४.२२ प्रतिशत ल्याएर निकटतम् प्रतिद्धन्दी रहेका काँग्रेसका केशवप्रसाद दाहालको जमानत जोगिएको छ । प्रतिनिधिसभामा उम्मेदवार रहेका मंगोल नेस्नल अर्गनाइजेसनका छबिन्द्र गुरुङ (०.०८), एकीकृत राप्रपा राष्ट्रवादीका डिल्लीराम बिष्ट (०.४८), राष्ट्रिय जनमुक्तिका आइत मावो (०.६५), संघीय समाजबादी फोरमका धनकुमार साम्यू (०.८०) र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बिष्णुकुमार याक्सो (३.२२) प्रतिशत मात्र मत आएपछि जमानत जफत भएको छ । प्रदेशसभा १ (क) तर्फ कुल सदर मत २७ हजार ८ सय ८३ को ५५.२९ प्रतिशत ल्याएर बिजयी एमालेका बलबहादुर साम्सोहाङ र ३९.३५ प्रतिशत ल्याएर निकटतम् प्रतिद्धन्दी रहेकी काँग्रेसकी लिलादेबी बोखिम बाहेक अरु सबैको जमानत जफत भएको छ । प्रदेशसभा १ (क) मा उम्मेदवार रहेका एकीकृत राप्रपा राष्ट्रवादीका गायत्रीप्रसाद थेबे (०.३०), राष्ट्रिय जनमुक्ति पार्टीका बलबहादुर किराँत (०.४३),संघीय समाजबादी फोरमका झक्तबहादुर ऐङदेन (०.५६),नयाँ शक्ति पार्टीका मनबहादुर गुरुङ(०.९५) र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका देउबहादुर खुदाङ (३.०८) प्रतिशत मत ल्याएका छन् । प्रदेशसभाको १(ख) मा २१ हजार ४ सय ९१ सदरमत मध्ये ५६.७५ प्रतिशत ल्याएर बिजयी माओवादी केन्द्रका टंक आङबुहाङ र ३५.३० प्रतिशत ल्याएर निकटतम् प्रतिद्धन्दी रहेका काँग्रेसका दीपेन्द्रकुमार सेन्दाङ बाहेक अरु ६ जनाको जमानत जफत भएको छ । जनामत जोगाउन असफल उम्मेदवार मध्ये एकीकृत राप्रपा राष्ट्रवादीका सपना सामेखाम(०.३८), नयाँ शक्ति पार्टीका बिशाल लिम्बू (०.४९)राष्ट्रिय जनमुक्ति पार्टीका यामकुमार आङबुहाङ (१.०३),संघीय समाजबादी फोरमका सुखवीर लिम्बू (१.१०),जन समाजवादी पार्टीका कृष्णबहादुर लिम्बू(१.६७) र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मुक्साम लाबुङ लिम्बूले (३.२३) प्रतिशत मत ल्याएका छन् ।