मोरङ/ राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य प्राध्यापक कपिल श्रेष्ठले संविधानमा मानव अधिकारको कुरा लेखिए पनि ब्यवहारमा अन्यौल रहेको बताए । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान झापा शाखा र राष्ट्रिय मानव अधिकार आयोग विराटनगरले झापाको विर्तामोडमा शुक्रवार आयोजना गरेको संविधान कार्यान्वयनमा मानव अधिकार र यसका चुनौती विषयक कार्यक्रममा श्रेष्ठले सो कुरा बताएका हुन् । कार्यक्रममा श्रेष्ठले दक्षिण एसियामा मानव अधिकार सम्वन्धि कानुन र निति बनाउन  नेपाल एक नम्वर भए पनि कार्यान्वयनमा दुविधामा रहेको जनाए । ६९ औं अन्तराष्ट्रिय मानव अधिकार दिवशको अवसरमा भएको सो कार्यक्रममा श्रेष्ठले सरकारी र सार्वजनिक पद धारण गरेका ब्यक्तिले नै मानव अधिकार उलंघन गर्ने गरेको बताउदै उनीहरुले मानव अधिकारको आधारभूत विषयमा ज्ञान राख्नु पर्ने बताए । बिर्तामोड नगरपालिकाका मेयर धुर्व शिवाकोटीले बनेको कानुन कागजमा सिमित भएको हुँदा त्यसको ब्यवहारमा लागु हुनु पर्ने बताए । प्रतिष्ठानका अध्यक्ष डाक्टर नविन चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा कन्काई नगरपालिकाको उपमेयर मन्जु प्रसाईले मानव अधिकारको विषयमा सबै सजक भएमात्र  मानव अधिकार हननका घटनामा कमी आउने जनाइन् । आयोगका विराटनगर क्षेत्रीय कार्यालयका निमित्त प्रमुख सन्तोष आचार्यले मानव अधिकारको उलंघनका घटना हुन नदिन सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको बताउदै अन्यायको विरुद्ध सम्पूर्ण जनता एक हुनु पर्ने कुरा आव्हान गरे । कार्यक्रममा, मानव अधिकारको परिचय , संविधानले ब्यवस्था गरेको मानव अधिकार , अहिलको स्थिति , नागरिकको कर्तब्य , राज्य तर्फबाट हुने उलंघनका घटना र बिद्रोही पक्षबाट हुने मानव अधिकार हनन लगायतका बिषयमा छलफल गरिएको हो ।