काठमाडौँ /राष्ट्रनिर्माताका रुपमा परिचित पृथ्वीनारायण शाह कुनै बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका लागि अप्रिय व्यक्तित्व थिए । तर, आज तिनै पृथ्वीनारायण उनका लागि आदर्श बनेका छन् ।

अध्यक्ष दाहालले नेपाल देशभक्त गणतान्त्रिक मञ्चले बानेश्वरमा गरेको कार्यक्रममा पृथ्वीनारायणले नेपालकै इतिहासमा सबैभन्दा ठुलो आन्दोलन चलाएको तर्क गर्दै राष्ट्रिय एकता अभियानलाई बिहीबार एक कार्यक्रम स्मरण गरेका छन् ।

आफ्नो नेतृत्वमा देशमा भएको १० वर्षे जनयुद्ध र त्यसपछिको शान्ति प्रक्रिया पृथ्वीनारायणको एकता अभियानपछिको ठुलो आन्दोलन भएको अध्यक्ष दाहालको तर्क थियो ।

आफूलाई यति धेरै अवसर प्राप्त भएको भन्दै दाहालले नेपाल र नेपालीप्रति ऋणि रहेको पनि उल्लेख गरे । ‘एकै व्यक्तिलाई यति धेरै अवसर कमैलाई मात्र प्राप्त हुन्छ। मलाई त्यस्तो अवसर प्राप्त भयो, नेपाल राष्ट्र र नेपाली जनताप्रति म ऋणि छु’, उनले भनेका छन्, ‘पृथ्वीनारायण शाहपछि नेपालमा सबैभन्दा ठूलो आन्दोलन र बलिदान मेरै नेतृत्वमा प्राप्त भयो, त्यसले गणतन्त्र, संघीयता र नयाँ संविधान दियो। मेरै नेतृत्वमा शान्ति सम्झौता भयो। युद्द र शान्ति दुवैको नेतृत्व गर्ने अवसर जनताले मलाई दिए।’

अध्यक्ष दाहालले संविधान निर्माण र कार्यान्वयनमा पनि नेतृत्वदायी भूमिका खेलेको बताउँदै अब नेपालमा स्थिरता र विकास हुने जिकिर गरे । ‘अब नेपालको स्थिरता, विकास र समृद्धिको नेतृत्व पनि मेरै काँधमा आएको छ’, उनले भने, ‘त्यो जिम्मेवारी पनि म पूरा गर्छु।’

जनताप्रति विनम्र बनौँ

अध्यक्ष प्रचण्डले निर्वाचनमार्फत् जनताबाट प्राप्त जनमतप्रति पार्टी र नेताहरु विनम्र हुनुपर्नेमा पनि जोड दिएका छन् । ‘जनताले हामीलाई निकै ठूलो जिम्मेवारीको भारी बोकाएका छन्। हाम्रो दायित्व देशमा स्थिरता र विकासको सपना साकार पार्नु हो’, उनले भने, ‘जनमतबाट हामी अझै जिम्मेवार बन्नुपर्छ, विनम्र बन्नुपर्छ। जनमतको सम्मान गरेर अघि बढ्नुपर्छ।’

अध्यक्ष दाहालले वामपन्थी गठबन्धन बनाएर निर्वाचन लडेपछि वाम समीकरण र पार्टी एकतालाई जनताले अनुमोदन गरेका जिकिर गरे । ‘अब हामी इमान्दार भएर अगाडि बढ्नुपर्छ’, उनले अगाडि भने, ‘निर्वाचनले धेरै चुनौतिको समाधान दिएको छ। तर, थप चुनौति देखिएका छन्। संविधान र कानूनको फरक व्याख्या देखिएको छ। यसको समाधान पनि जनमतअनुसार नै हुन्छ।’

अध्यक्ष दाहालले राष्ट्रिय एकता र भौगोलिक अखण्डताको प्रावधान बाहेक अरु कुरा जनमतका आधारमा परिमार्जन गर्न सकिने बताउँदै सं‌विधान संशोधन गर्न सकिने संकेत गरे ।

अन्नपुर्णपाेष्ट