काठमाडौं । निर्वाचनबाट ठूलो दल बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नै पूर्व अनुबन्धनका कारण अढाइ वर्ष मात्रै प्रधानमन्त्री बन्न पाउने भएका छन् । पाँच वर्षे कार्यकालको बाँकी अवधि ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई छाडिदिनुपर्ने भएको छ ।
गत असोजमा दशैंको टीका सकिएलगत्तै एमालेको बैठक बसेको थियो, जसमा अध्यक्ष केपी ओलीले माओवादीसँगको सम्झौताबारे तयार पारिएको ड्राफ्ट प्रस्तुत गरेका थिए, जसको तीन नम्बर बुँदामा ‘निर्वाचनपछि सरकारको नेतृत्व आलोपालो गर्ने’ उल्लेख गरिएको थियो ।
माओवादीका उच्च नेताले दिएको जानकारीअनुसार दशैंपछि संयुक्त कार्यक्रम गरेर ७ बुँदे सहमति जारी गर्दैगर्दा ३ नम्बर बुँदाको ‘आलोपालो सरकारको नेतृत्व गर्ने’ वाक्यांशलाई सार्वजनिक गरिएन र त्यसलाई ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ का रुपमा लिने सहमति गरेर वाम गठबन्धनको घोषणा भयो ।
पछि काँटछाँट गरिएको सो सहमति पत्रमा निर्वाचन सूर्य चिह्नमा लड्ने समेत उल्लेख थियो । तर, प्राविधिक कारणले सो सहमति कार्यान्वयन भएन र दुबै दल आ-आफ्ना चुनाव चिह्नमा लडे ।
माओवादी स्रोतको दाबीअनुसार केपी ओलीले दशैंमा बसेको एमालेको बैठकमा सोही आलोपालो प्रणालीबारे केन्द्रीय सदस्यहरुलाई ब्रिफिङ गरेका थिए । र, माओवादी अध्यक्ष प्रचण्डले पनि आफ्ना सहयात्रीलाई सरकारको नेतृत्व आलोपालो हुने सहमति भएको ब्रिफिङ गरेका थिए ।
यसरी आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गराएर माओवादीलाई कन्भिन्स गर्ने कार्यमा एमाले उपाध्यक्ष वामदेव गौतमको पनि मुख्य भूमिका रहेको र केपी ओली यसमा सहमति भएपछि नै वाम गठबन्धन भएको माओवादी स्रोतले अनलाइनखबरलाई बतायो ।